कपिल ज्ञवाली
सिद्धार्थनगर, असार १४ गते । रुपन्देहीको सम्मरीमाई गाउँपालिका –६ डिहुलीका स्थानीयलाई सुपानेट झुल वितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा वीर फाउन्डेसन नेपाल र नमस्ते बालबचाउ नेपालको व्यवस्थापनमा वडाभित्र रहेका ६ सय जनालाई एक–एक थानका दरले झुल वितरण गरिएको हो ।
तीन दिनसम्म हुने कार्यक्रममा ६ सय थान झुल वितरण गरिने वडा ६ का वडाध्यक्ष तौलन केवटले जानकारी दिनुभयो । उहाँले गर्मीका कारण लामखुट्टेमार्फत् मानिसमा अनेक प्रकारका रोग समेत लाग्नसक्ने भएकाले उनीलाई ती रोगबाट बचाउन सुपानेट झुल वितरण गरिएको बताउनुभयो । सो कार्यक्रमका लागि ५ लाख बजेटमा व्यवस्थापन गरिएको थियो ।
सरकारी तथ्याङ्कमा आधारित रहेर वडाभित्र रहेका ज्येष्ठ नागरिक, एकल र विधवा महिलालाई नागरिकताको आधारमा झुल वितरण गरिएको वडा ६ का वडासचिव घनश्याम यादवले जानकारी दिनुभयो ।
स्थानीयलाई वडाध्यक्ष तौलन केवट, वीर फाउन्डेसनका अध्यक्ष विजया खत्री, नमस्ते बालबचाउ नेपालका अध्यक्ष जगन्नाथ बस्याल, भीम अस्पताल विकास समितिका सदस्य लक्ष्मी केसी, जनप्रतिनिधिहरू रामबहादुर चाँइ, प्रमोदकुमार मिश्र, सावित्री हरिजन, सुघरमति अहिरलगायतले झुल वितरण गर्नुभयो ।
स्थानीय ७६ वर्षीय रामलौटन अहिरले झुल पाएपछि खुसी लागेको बताउनुभयो । उहाँले गर्मीमा सर्पको पनि धेरै डर हुनेभन्दै झुल लगाएर सुतेपछि सर्पको टोकाइबाट बचिने बताउनुभयो ।