• १३ पुस २०८१, शनिबार

किसानलाई मिनी टेलर मेसिन प्रदान

blog

टेलर मेसिनबाट हिमाली क्षेत्रको जमिनमा सफल रुपमा जोत्ने कार्य गर्दै ।

राजन रावत

हुम्ला, असार १४ गते । सिङ्गो गाउँका किसानहरूलाई स्मार्ट र किसान मिनी टेलर मेसिन (हलो) सहयोग प्राप्त भएपछि पहिलो पटक जोत्न सुरु गरिएको छ । सिमकोट गाउँपालिका -८ का किसान लेखे बुढाले सिङ्गो गाउँका किसानहरूलाई तीन वटा टेलर मेसिन उपलब्ध भएपछि जोत्न सुरु गरिएको बताउनुभयो ।

उहाँले मेसिन जडान गरेर जग्गामा जोत्न समेत सफल भएको बताउँदै यसबाट किसानलाई खेतबारी जोत्न सहज र समय बचत हुने बताउनुभयो । उक्त गाउँका किसानहरूले पहिलो पटक टेलर मेसिनबाट जोत्न पाउनु भएको हो । यसअघि गोरुबाट परम्परागत हलोले किसानहरूले जोत्दै आउनुभएको थियो । 

किसानलाई सो मेसिन सहयोग गर्ने आधार विकास नेपालका शिक्षा अधिकृत कन्जोक लामाले स्याँडा गाउँका छ वटा किसान समूललाई दुई वटा स्मार्ट र किसान मिनी टेलर निःशुल्क प्रदान गरिएको बताउनुभयो । उक्त मेसिनले सात वटा घोडाले तान्ने शक्ति बराबर खेतबारी जोत्न सक्नेछ । 

स्याउँमा दुई सय ५० घरधुरी रहेको ती घरधुरीलाई ४० देखि ४२ सदस्य समूह बनाइएको छ । आधार विकासले विगत लामो समयदेखि कृषि क्षेत्रमा समेत काम गर्दै आएको छ । उहाँले किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन वृद्धि गर्न र कम समय र परिश्रमबाट खेतीपाती गर्नका लागि यो प्रविधि सहयोग गरिएको बताउनुभयो । 

यो मेसिन सञ्चालनका लागि छ वटै समूहका एक एक जनालाई तालिम समेत प्रदान गरिएको छ । उहाँहरूले मेसिन सञ्चालनदेखि मर्मत समेत गर्न सक्नुहुनेछ । मेसिन सञ्चालनमा आएपछि प्रत्येक किसानले आफूले मेसिन चलाएको दिनमा इन्धन भने आफैले खर्च व्यहोर्नुपर्नेछ । त्यसैगरी नाम्खा गाउँपालिका-३ का दुई किसान समूहलाई पनि दुई वटा मेसिन सहयोग गरिएको छ । प्रति मेसिनको मूल्य सत्तरी हजार रुपियाँ परेको छ ।