रेखीराम राना
पाल्पा, असार १४ गते । चार वर्षदेखि अवैध रूपमा सञ्चालित तानसेन खानेपानी उपभोक्ता समिति खारेज गरिएको छ । तानसेन नगरपालिकाको आयोजना गरिएको वृहत् उपभोक्ताहरूको भेलाले चार वर्षदेखि अवैध रूपमा सञ्चालित उपभोक्ता समितिलाई खारेज गर्ने निर्णय गरेको हो । समिति खारेज गरेपछि तत्कालका लागि नगरपालिका मातहत तदर्थ समिति बनाउने निर्णय भएको हो ।
खानेपानी उपभोक्ता समिति विधान अनुसार चल्न नसकेपछि नगरपालिकाले हस्तक्षेप गर्न परेको तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । २०६८ सालमा निर्वाचित उपभोक्ता समितिले २०७३ सालदेखि उपभोक्ता समितिको चयन प्रक्रिया अगाडि बढाउन सकेको छैन । तानसेनका उपभोक्ताबाट व्यापक गुनासो आएपछि नगरपालिकाले पुरानो समिति खारेज गर्न बाध्य भएको श्रेष्ठले बताउनुभयो ।
पुरानो समितिले विधान प्रमाणित नगरेको, वर्षौँदेखि साधारण सभा तथा अधिवेशन नगरेको, आफूखुसी विधान परिवर्तन गरेको आरोप छ । नयाँ समिति नबन्दासम्म उपभोक्ता समितिको बैङ्क खाता रोक्का गर्ने निर्णय भएको नगरका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
तानसेन उपभोक्ता समितिका पुराना पदाधिकारीमध्ये अधिकांशले राजीनामा दिइसकेका छन् । पुरानो समितिका उपाध्यक्ष हाल कार्यवाहक अध्यक्ष डा. पुरनमान बज्राचार्यले भने समितिका पदाधिकारीले राजीनामा दिएको जानकारी नभएको बताउनुभएको छ । बज्राचार्यले भने खानेपानी उपभोक्ता समितिका नयाँ पदाधिकारी चयनका लागि नेपाल बार एसोसिएसन पाल्पाले निर्वाचन प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
तानसेन उपभोक्ताले भने खानेपानीको जिम्मा नगरपालिकाले लिनुपर्ने बताउँदै आएका छन् । तानसेन-२ का स्थानीय बासिन्दा चित्रवलीराम सुवालले तानसेन खानेपानीको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता समितिले ११ वर्षकम काम गर्नै सकेन अब खानेपानीको जिम्मा नगरपालिकाले लिनुपर्छ ।”