• १३ पुस २०८१, शनिबार

सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई ।

काठमाडौं, असार १२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ । गत असार ४ गते मन्त्रिपरिषदमा पेस गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेस गर्ने उहाँको भनाइ थियो ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गर्नु भयो ।

‘‘सङ्घीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरूले जिज्ञासा राख्नु भएको छ । मैले यस बारेमा पनि यहाँहरूलाई निवेदन गरिसकेको छु । असार ४ गते त्यो मन्त्रीपरिषदमा दर्ता भइसकेको छ । आज १२ गते हो । मलाई लाग्छ आजको क्याबिनेटमा त्यो आइसकेको होला । र, मन्त्रिपरिषद्ले अनुमति दिनेवित्तिकै संसदमा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरूलाई निवेदन गर्न चाहन्छु ।,’’ मन्त्री राईले भन्नुभयो, ‘‘त्यो ऐन बन्ने बित्तिकै, त्यो विधेयक संसद्ले पारित गर्ने बित्तिकै विद्यालय शिक्षा क्षेत्रमा दातृ निकायहरूले पनि गुणस्तर सुधारका निम्ति पर्याप्त सहयोग गर्न सक्ने जानकारी चाहिँ भेटवार्ताहरूमा दिने गरेका छन् । दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय विद्यालय सुधारका धेरै काम यो ऐनले पूरा गर्नेछ ।’’

मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरूले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको सदनलाई जानकारी गराउनुभयो ।

यसैगरी, शिक्षा राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको छ । मन्त्री राईले शिक्षा क्षेत्रको सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नु भयो, ‘‘सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन सक्दैन । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागि रहेको छ । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रयास गरिनेछ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।’

मन्त्री राईले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति गराउने कुरालाई सरकारले विशेष प्राथमिकता दिएको समेत बताउनुभयो ।