काठमाडौं, असार १२ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालिरहेको र सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउनुभयो।
उहाँले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभई सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशील तुल्याउनु, आजको आवश्यकता हो। यसका लागि भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता त्यत्तिकै महत्त्वपूर्ण छ। केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको नजिकबाट नियालिरहेको छु। सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्ता अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन।’’
मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रूपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताउनुभयो। उहाँले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरू समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठुलो सङ्ख्यामा उच्च शिक्षकमा लागि बिदेसिने क्रमलाई देशमै अवसर प्रदान गरी रोक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताउनुभयो।