• १३ पुस २०८१, शनिबार

पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्नुपर्छ : कांग्रेस सांसद गौतम

blog

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम ।

काठमाडौं, असार १२ गते । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको छ । सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटङ्की बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको हो ।

मङ्गलबार प्रतिनिधि सभाको दाेस्राे बैठकमा समय लिएर बोल्नुहुँदै उहाँले पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भर्त्सना समेत गर्नुभयो । त्यस अवसरमा सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरू बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

‘‘आराध्यदेव पशुपतिनाथलाई जथाभाबी विवादमा ल्याएर सारा हिन्दुहरूको भावनामा चोट पुग्ने काम भएको छ सभामुख महोदय । गर्भ गृहमा रहेको शिवलिङ्गलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ । धर्मको नाममा नौटङ्की बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनी म आग्रह गर्न चाहन्छु सभामुख महोदय ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘पशुपतिमा अर्पित जलहरीमा ढिलै भए पनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो सभामुख महोदय । तर उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अङ्गका रूपमा पुजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ सभामुख महोदय ।’’

सांसद गौतमले पशुपतिनाथमा चढाइएको सुनको जलहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षण गर्नु भने राम्रो काम भएको बताउनुभयो ।