• १३ साउन २०८१, आइतबार

तथ्यहीन सूचनाको भर पर्दा सयौं यात्रु र सवारी साधन अलपत्र

blog

सामाजिक सञ्जालको तथ्यहीन सूचनाको भरपरी हिँडेका सवारी साधन र यात्रु अलपत्र अवस्थामा । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, असार ११ गते । बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको मेची राजमार्गस्थित रहेको हेँगा खोलाघाटमा डाइभर्सनको काम सकिएको सूचना पाएपछि संयौं सवारी साधन त्यसतर्फ लम्किए । सामाजिक सञ्जालमा आएको सो सूचनाका भरमा अघि बढेका सवारी साधन अहिले अलपत्र परेका छन् । 

हेँगा खोलामा डाइभर्सन गर्ने काम सुरु भएलगत्तै आइतबार साँझदेखि यातायात सुचारु हुने भन्दै यहाँका राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिले सो सूचना पोष्ट गरेका थिए । ताप्लेजुङ र हेँवाखोला पारीको पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका नागरिक फिदिम र इलाम हुँदै झापाका लागि हिँडेका थिए ।

‘बाटो खुल्नै लाग्यो, आइतबार बेलुका नै खुल्छ’ भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि सवारी साधन त्यतातिर लागेका थिए । सवारी साधन हेवा दोभान आइपुगेको ७ घण्टा बित्दासम्म खुलेको छैन । ‘तथ्यहीन सूचनाको भरपर्दा संयौं सवारी साधन र यात्रुले दुःख पायौँ’ ताप्लेजुङ साबलाखुका नेत्र लिम्बूले भन्नुभयो ।

हेवा खोलाकिनारका भारपाखण्डमै भेटिनुभएका मानबहादुर माबोले पनि फेसबुकको सूचनालाई विश्वास गरेर हिँड्दा भोकप्यासै खोला किनारमा ८ घण्टा बिताउनु परेको गुनासो गर्नुभयो । 

‘बाटो खुल्नै लाग्यो, आइतबार बेलुका नै खुल्छ’ भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि सवारी साधन त्यतातिर लागेका थिए ।

राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिले श्रेय लिनका लागि काम भइरहेको स्थानमा पुगेर सेल्फी खिच्दै हतारमा सूचना सम्प्रेषण गर्ने गरेकाले ती सूचनालाई आधिकारिक मानेर हिड्दा नागरिकले दुःख पाएको बताउने गरेका छन् । 

सडक डिभिजन कार्यालय इलामले बाढीले पुल बगाएको हेवा खोलामा आइतबार विहानदेखि ह्युमपाइप राखेर डाइभर्सन गर्ने प्रयास थालिएको छ ।  कम्तीमा १० वटा ह्युमपाइप आवश्यक पर्ने सो स्थानमा ६ वटा मात्रै उपलब्ध भएपछि ढुङगा हालेर बाटो खोल्ने प्रयास भइरहेको छ । 

बाढीले पुल बगाएपछि नौ दिनदेखि खोलापारी रहेका नागरिक बाटो खुलेको सूचना पाएसँगै विभिन्न स्थानका लागि हिँडेका थिए ।

बाढीले पुल बगाएपछि नौ दिनदेखि खोलापारी रहेका नागरिक बाटो खुलेको सूचना पाएसँगै विभिन्न स्थानका लागि हिँडेका थिए । सबै काम सकिन आज साँझ ५ वजेसम्म लाग्न सक्ने सडक डिभिजन इलामका इन्जिनियर हरेराम रिमालले बताउनुभयो ।

बाटो खुल्ने आशामा ताप्लेजुङसहित हेँवा पारीको पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङतर्फबाट आएका संयौं यात्रु र सवारी साधन हिलिहाङ –७ मा अलपत्र परेको उहाँले बताउनुभयो ।