• १३ साउन २०८१, आइतबार

अस्पतालको नवनिर्मित भवन प्रयोगमा नआउँदै चुहियो

blog

लथालिङ बनेको प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवनभित्र रहेका अस्पतालका शैयाहरु । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असार ११ गते । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन चुहिन थालेको छ । भवन चुहिएर कतिपय संरचना भत्किएपछि विवाद सिर्जना भएको छ । निर्माण सम्पन्न भएको र दुरुस्त अवस्थामा रहेको भन्दै हस्तान्तरण भइसकेको भवनको आइसियु ब्लकलगायतका विभिन्न ब्लकमा पानी चुहिने र कमसल सामग्री प्रयोग भएको पाइएपछि विवाद सिर्जना भएको हो ।

५० शय्याको अस्पतालका लागि ६ वटा ब्लकमा कन्टेक प्रालि नामक कम्पनीले भवन निर्माण गर्ने जिम्मेवारी पाएको थियो । भवनको बिषयमा विवाद सिर्जना भएपछि अस्पताल विकास समितिले आफूहरूले भवन जिम्मा नलिएको दाबी गरेको छ । अस्पताल विकास समितिको आकस्मिक बैठक बसेर भवन निर्माणको विषयमा आएका विवाद निराकरणका लागि सरकारसँग माग गरेको छ ।

आफूहरूले भवनको अनुगमन गर्दा त्यहाँ बिरामीको उपचार गर्न नसक्ने अवस्थामा भेटिएको विकास समितिका सदस्यहरूको भनाइ छ । भवन हस्तान्तरण प्रक्रिया तत्कालै स्थगन गरी उच्चस्तरीय प्राविधिक टोली र सम्बद्ध पक्षसहितको जाँचबुझ पश्चात् मात्र थप अन्य कारबाही अगाडि बढाउन नेपाल सरकारसमक्ष माग गरेका छौँ, विकास समितिका अध्यक्ष विश्वनाथ बरालले भन्नुभयो ।

अस्पतालको झ्याल, ढोकाका सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषयमा छलफल भई सो समस्या समाधान गर्ने र अन्य समस्या भएमा ठेकेदारले धरौटीस्वरुप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको उहाँले बताउनुभयो । 

अस्पताल भवन निर्माण कार्यका लागि पाएको समयावधि पटक पटक थप गर्दैगरेको र २०८० जेठ २२ गते अस्पताल विकास समितिको बैठकमा ठेकेदारका प्रतिनिधि र नेपाल सरकार सघन सहरी तथा भवन निर्माण आयोजना, झापाका इन्जिनियरसहितको बैठकमा भवन निर्माण कार्य सम्पन्न भएकाले सो भवन हस्तान्तरण प्रक्रियाको लागि छलफल भएको समितिले जनाएको छ ।

अस्पतालका प्रमुख डा. जयकुमार ठाकुरले भवन जिम्मा लिइसक्नु भएको जानकारी प्राप्त भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, झापाका प्रमुख रूपक आचार्यले बुझाउनुभएको छ । रोहवरमा अस्पताल विकास समितिका अध्यक्ष बरालसहित भद्रपुर नगरपालिकाका प्रमुख एवं विकास समितिका सदस्य गणेश पोखरेललगायतले हस्ताक्षर गर्नुभएको छ ।

पुरानो अस्पतालको जीर्ण भवन, बिरामीको ठुलो चाप र खरिद गरिएका उपकरण बिग्रनेजस्ता विषयलाई मध्यनजर राख्दै नयाँ भवन हस्तान्तरण प्रक्रिया अघि बढाई अनुगमन गर्ने निर्णय मात्र भएको बरालले बताउनुभयो । अहिले भवनबाट पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहिएको देखिन आएको, छानाको फाइबर कमसल भएको, तीन वटा सेक्सनको छानाको जडानमा पानी चुहिएको उहाँले जानकारी दिनुभयो ।

भवन निर्माणको क्रममा प्राविधिक त्रुटि भएको भए ठेकेदारसहित सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याई कारबाही गर्न र क्षतिपूर्ति समेत असुलउपर गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ, अस्पताल विकास समितिले प्रेस विज्ञप्ति जारी गरेर भनेको छ । धरौटी रकम निर्माण व्यवसायीले नलगेका कारण त्यहीबाट पुनः निर्माणको काम गराउन पनि विज्ञप्तिमा भनिएको छ ।

करिब २३ करोडको लागतमा बनेको प्रादेशिक अस्पतालको भवन गुपचुपमा नै हस्तान्तरण भएको र यस विषयमा आफूहरूले खबरदारी गरेपछि अस्पताल विकास समितिको ध्यान गएको स्थानीय प्रेम खनालले बताउनुभयो । युवा नागरिक समाज भद्रपुर नगर कमिटीले यस विषयमा आवाज उठाएको थियो ।