• ३२ जेठ २०८१, शुक्रबार

‘शर्मालीगढी किल्ला संरक्षण गर्न गुरुयोजना बनाएका छौँ’

blog

बैतडीका १० वटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिका तल्लो स्वराड क्षेत्रमा पर्दछ । यस गाउँपालिकाले डडेलधुरा र भारतको चम्पावत जिल्लालाई छोएको छ । शिवनाथ गाउँपालिका र भारतको चम्पावत जिल्लालाई महाकाली नदीको सिमानाले छुट्याएको छ । नेपाली कांग्रेसबाट ४७ वर्षीय कर्णसिंह साउद दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । पहिलो कार्यकाल उहाँका लागि अनुभव र परीक्षण कालका रूपमा रहे पनि दोस्रो कार्यकालमा सर्वसाधारण नागरिकको सेवा तथा विकास निर्माणलगायत विविध विषयमा प्रस्तुत छ, अध्यक्ष साउदसँग गोरखापत्र दैनिकका लागि गोकर्ण दयालले गरेको कुराकानी :  


 शिवनाथ गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकाल बिताउँदै गर्दा मतदातालाई सन्तुष्ट पार्ने के कस्ता काम गर्नुभएको छ ?

स्थानीय तहको निर्वाचनमा जनताले अत्यन्तै माया र आशा भरोसा गरेर मलाई २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचन जिताउनु्भयो । पहिलो कार्यकालमा शिवनाथ गाउँपालिकाका सबै वटा वडामा सडक पु-याएका छौँ । खानेपानीको चर्को समस्या भोगिरहेका वडा नम्बर ४, ५ र ६ मा एक करोडभन्दा बढी लगानीका २१ वटा खानेपानीका ठुला परियोजना निर्माण भएका छन् । गाउँपालिकाको १६ कोठाको आधुनिक भवन निर्माण गरेका छौँ । गाउँपालिकामा अस्थायी प्रहरी पोस्ट र बैङ्क स्थापना गरेका छौँ । 


 जथाभाबी डोजरले सडक खन्दा बाढीपहिरोको समस्या र पानीका मुहान सुकेका छन् । पर्यावरणीय संरक्षणमा ध्यान दिन सक्नु भएन कि ? 

यसको अध्ययनमा चाहिँ गाउँपालिका चुकेको हो । यो गल्ती महसुस गरेर हामीले वृक्षरोपणका कार्यक्रम अघि बढाएका छौँ । सदियौँदेखि भारी बोकेर खानुपर्ने शिवनाथ गाउँपालिकावासीको पीडा थियो । सडक भन्ने कुरा त सपनामा पनि देख्न नपाएकाले स्थानीय सरकारलाई जनताले सडकका लागि यति दबाब दिए कि सबै वडामा सडककै माग आयो । गाउँपालिका गठन हुँदा एउटा वडामा पनि सडक थिएन । सडक निर्माण गर्दा डोजरका कारणले पानीका मुहान पनि सुक्न थालेपछि गाउँपालिकाले मुहान संरक्षण गर्न वृक्षरोपण र आकाशे पोखरी निर्माण गरेर मुहान रिचार्ज गर्न चार वटा पोखरी निर्माण गरेका छौँ । 


 सबै वडामा सडक त पु-याउनुभयो तर त्यो सडकमा गुड्ने गाडीमा बाहिरबाट खाद्यान्न ल्याएको देखिन्छ । कृषि उत्पादनका लागि के योजना छ ?

यो निकै राम्रो प्रश्न गर्नुभयो । खाद्यान्न किन्नुपर्ने बाध्यताबाट हामी अहिले नै मुक्त हुन सकेका छैनौँ । यद्यपि गाउँपालिकाले कृषि क्षेत्रमा लगानी गरेपछि शिवनाथ गाउँपालिका तरकारीमा आतमनिर्भर बनेको छ । बाहिरबाट चामल बोकेर आउने गाडीमा हामीले तरकारी पठाउने गरेका छौँ । शिवनाथमा फलेको तरकारी र टमाटर प्रदेश राजधानी धनगढी गइरहेको छ । कृषिमा आत्मनिर्भर बन्न गाउँपालिकाले चार सय पोलिहाउस वितरण गरेको छ । बाख्रा वितरण गरेर अगुवा किसानलाई खोर सुधारको कार्यक्रम दिएका छौँ । दुध र अन्डामा आत्मनिर्भर बनाउन उन्नत जातका गाई र कुखुरा वितरण गरेका छौँ । दुई रोपनीभन्दा बढी जग्गामा अदुवा र बेसार खेती गर्न किसानलाई प्रोत्साहन गरेका छौँ । 


 पर्यटन विकासका लागि गाउँपालिकाले के कस्तो काम गरिरहेको छ ? 

शिवनाथ गाउँपालिका–२ मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला पुनर्निर्माण गर्न गाउँपालिकाले चार करोड रुपियाँको गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनामा किल्लाको संरक्षण, पद मार्ग, कोतखाना निर्माण र किल्ला वरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्ने कुरा समेटिएको छ । किल्लाको मौलिकता जे जस्तो हो त्यही स्वरूपमा पुनर्निर्माण गर्न करिब चार करोड रुपियाँको लागतमा डिपिआर तयार गरी पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाइसकेका छौँ । 


 शर्मालीगढी किल्लाको विशेषता के हो ? 

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्त्वका हिसाबले शर्मालीगढी किल्ला महत्त्वपूर्ण छ । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएको थियो । नेपाल एकीकरण र अङ्ग्रेजसँगको लडाइँका बेला स्थापना भएको यो किल्ला जीर्ण अवस्थामा थियो । नेपाल एकीकरकण मार्ग अन्तर्गत नेपाली सेनाले शर्मालीगढी किल्लासम्म २६३ मिटर लामो पद मार्ग निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । 


 पर्यटनको क्षेत्रमा गाउँपालिकाले के कति काम गरेको छ ? 

धार्मिक पर्यटनतर्फ बैतडीकै चर्चित शिवनाथ मन्दिर जाने सिँढी निर्माण भएको छ । यहाँ नेपालका मात्रै नभएर भारतबाट समेत धार्मिक पर्यटक आउने गरेका छन् । यो मन्दिरसँगै जोडिएको ऐतिहासिक भानमती धारा संरक्षण गर्न एक लाख रुपियाँ खर्च गरेर धारा पुनर्निर्माण गरिएको छ । शिवनाथ मन्दिर र ऐतिहासिक शर्मालीगढीको संरक्षण, प्रचारप्रसार र प्रवर्धन हुन सके गाउँपालिकाको पर्यटकीय विकासमा टेवा पुग्ने छ । 


 शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्तो उपलब्धि हासिल भएको छ ? 

विद्यालयमा भवन नहुँदा विद्यार्थी खुला चौर र चुहिने भवनमा बसेर पढ्नुपर्ने बाध्यता थियो । हामीले १० वटा विद्यालयका नयाँ भवन निर्माण गरिएका छन् । दुई वटा भवन गाउँपालिका र आठ वटा शिक्षा विकास तथा समन्वय एकाइको आर्थिक सहयोगमा निर्माण भएका छन् । गत वर्षदेखि स्थानीय विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञानको पढाइ सुरु गरेका छौँ । खेल्दै, रमाउँदै पढ्न पाउने नानीबाबुको अधिकार हो । बोल्ने किताबले अङ्ग्रेजी, नेपाली, चाइनिज र जापनिज भाषाका तीन हजार शब्द सिक्न सक्ने व्यवस्था गरेका छौँ । 


 गाउँपालिकाका चुनौती र समस्या के कस्ता रहेका छन् ?

गाउँपालिकामा कर्मचारी नहुँदा साह्रै समस्या छ । छ वटा वडामा एउटा पनि सचिव छैनन् । प्रमुख प्रशासकीय अधिकृतसमेत छैनन् । आर्थिक कारोबार ठप्प भएपछि मन्त्रालयसम्म भनसुन गरेर बल्ल तल्ला स्वास्थ्य शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । सङ्घ र प्रदेश सरकारले दरबन्दी अनुसारका कर्मचारी पठाउन नसक्दा निकै समस्या भएको छ ।