• १३ साउन २०८१, आइतबार

एकल लोक गायन प्रतियोगिताको उपाधि चन्द्रालाई

blog

तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार ९ गते । तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेलले जित्नुभएको छ । प्रदेशभित्र रहेका गुमनाम प्रतिभा खोज्ने उद्देश्यसाथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले प्रतियोगिता आयोजना गरेको हो ।

बुटवलमा सम्पन्न फाइनल प्रतियोगितामा अन्य २२ जना अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधिसँगै ५१ हजार १ सय ११ रुपियाँ नगद प्राप्त गर्नुभयो । बाँकेका चन्द्रबहादुर विश्वकर्मा प्रतियोगितामा द्वितीय हुँदै ३१ हजार १ सय ११ रुपियाँ नगद जित्नुभएको छ । त्यस्तै, रुपन्देहीका मधु परियार तृतीय हुँदै नगद २१ हजार १ सय ११ रुपियाँमा चित्त बुझाउनुभयो । प्रतियोगितामा सात्वका स्थान हासिल गरेका रोल्पाका प्रगति विष्ट क्षेत्रीले ५ हजार १ सय ११ रुपियाँ प्राप्त गर्नुभयो । 

उपाधि विजेता चार जनाले चर्चित सङ्गीतकार खेम सेन्चुरीको एल्बममा गीत गाउन तथा अभिनयको अवसर पाउने छन् । प्रतियोगिताका विजेतालाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर, प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, निर्णायक अमर विरही गुरुङ, दुर्गा रायमाझी, चन्द्र शर्मालगायतले पुरस्कार वितरण गर्नुभयो ।

लुम्बिनी प्रदेश अन्तर्गत रहेर कलाकारिता क्षेत्रमा काम गर्नेको सामाजिक सुरक्षा तथा उनीहरूको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगरले जानकारी दिनुभयो । हितकोषलाई कम्तीमा १० लाख पुगाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रतियोगिताका संयोजक नारायण परियारका अनुसार प्रतियोगितामा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए । डिजिटल तथा लाइभ अडिसनबाट फाइनलिस्टहरु छनोट गरिएका थिए । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट एक जना तथा अन्य जिल्लाबाट दुई–दुई जना फाइनलिष्ट छनोट गरिएका थिए ।