• २७ वैशाख २०८१, बिहिबार

दुई दिनदेखि हवाई सेवा अवरुद्ध

blog

सिमकोट बिमान स्थलमा रोकिएको जहाज । फाइल तस्बिर

राजन रावत

हुम्ला, असार ९ गते । सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई रुट पर्ने कालिकोट र बाजुरामा खराब मौसमको कारण हवाई सेवा अवरुद्ध भएको हो । 

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले शुक्रबारबाट हुम्ला जिल्लाको हवाई सेवा अवरुद्ध हुँदैआएको बताउनुभयो । उहाँले सिमकोटको मौसम ठिक भए पनि हवाई मार्गका लागि इनरुट पर्ने कालिकोट र बाजुरा जिल्लामा खराब मौसमको कारण हवाई सेवा सुचारु हुन नसकेको बताउनुभयो । 

दुवै दिन बिहान हुम्लाको मौसम खराब भए पनि ९ बजेपछि खुलेको थियो । शुक्रबार बिहान सीता, समिट र तारा एयरका जहाजले नेपालगञ्जबाट एक साथ उडान भर्न खोजेको भए पनि कालिकोट र बाजुरा जिल्लामा खराब मौसम भएका कारण जहाज छिर्न नसकेपछि डाइभर्ट भएको थियो । 

उहाँले यो क्रम शनिबार पनि सीता, समिट र तारा एयरका चार वटा जहाज नेपालगञ्जबाट उडेर कालिकोटबाटै फिर्ता भएको बताउनुभयो । कालिकोटमा बाक्लो कुहिरो र बादल लागेको कारण शनिबार पनि जहाज छिर्न सक्ने अवस्था नभएपछि सबै जहाज नेपालगञ्ज फिर्ता भएको बताउनुभयो । 

यसबाट दुई दिन लगातार जहाजमा चढेका यात्रुहरू नेपालगञ्ज फिर्ता हुनुपरेको थियो । सबै जहाजमा यात्रु र कार्गो सामान रहेको थियो । यसबाट यात्रुहरू आउन जहाज चढ्ने, केही समय जहाजमा आकाशमा उड्ने र फर्कने कार्य भएको छ । हवाई सेवा अवरुद्ध भएपछि नेपालगञ्ज–सुर्खेतबाट आउने यात्रु रोकिएका छन् ।