• २७ वैशाख २०८१, बिहिबार

अफिम र गाँजा खेती फस्टाउँदो

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार ८ गते । रुकुमपश्चिम जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको प्रहरी तथ्याङ्कले खुलासा गरेको छ। जिल्लामा विभिन्न समयमा गरेर १०५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ। लागुऔषध नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा निकाय, प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहसँगको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईद्वारा प्रस्तुत कार्यपत्रमा जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको तथ्याङ्क उल्लेख छ। 

जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख लुम्बिनी गौतमले लागुऔषध नियन्त्रणका लागि सरोकारवाला सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले जिल्लाका स्थानीय तहले लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक/एक जना काउन्सिलरको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले लागुऔषध दुव्र्यसनीमा फसेकाका लागि जिल्लामा सुधार गृहको आवश्यकता भएको बताउनुभयो।