• १३ साउन २०८१, आइतबार

‘काष्ठ–मूर्तिकला कार्यशाला’ सुरु

blog

काठमाडौँ, असार ८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा ‘समृद्धिका लागि सिर्जना’ भन्ने नाराका साथ एकहप्ते ‘काष्ठ–मूर्तिकला कार्यशाला’ बिहीबारबाट सुरु भएको छ । प्रतिष्ठानमा आयोजित एक औपचारिक कार्यक्रमबिच अग्रज मूर्तिकार एवं प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले कार्यशाला उद्घाटन गर्नुभयो । 

कार्यक्रममा बोल्दै मैनालीले भन्नुभयो, “कलाले परम आनन्द दिन्छ । हामी कलामा डुब्यौँ भने भौतिक र आध्यात्मिक दुवै सुख प्राप्त हुन्छ । भौतिक सुख भनेको बिक्री वितरणबाट प्राप्त हुने, कलाको रसास्वादन गर्ने आनन्द हो भने आध्यात्मिक सुख भनेको सिर्जना गरेका कलाबाट दिने आनन्द हो । यसर्थ कलाको आधार समृद्धि र मानसिक सन्तुष्टि हो ।” 

यसै गरी प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समृद्धि गहन शब्द भएको बताउँदै यसले सिर्जना र भावनालाई जोडेको बताउनुभयो । मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले कलाकारकै हकहितका लागि यो कार्यक्रम गर्न लागिएको बताउनुभयो । यसैबिच वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा आयोजित दुईदिने ‘क्यालिग्राफी आर्ट वर्कसप’ पनि सम्पन्न भएको छ । कार्यशालामा कलाकार अशोकमान सिंले क्यालिग्राफी आफैँमा अक्षरकला तथा आकर्षक विधा भएको बताउनुभयो । क्यालिग्राफीलाई कुनै पनि अप्लाइड डिजाइनमा प्रयोग गर्न सकिन्छ ।  कलाको प्राविधिक जानकारी भएमा यसलाई रचनात्मक कलाका रूपमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।  

त्यसै गरी कलाकार मुल्मीले क्यालिग्राफी एक प्रकारको लेखन कला भएको बताउँदै यसमा एउटा अक्षरलाई नै विभिन्न तरिकाले लेख्न सकिने बताउनुभयो । उहाँले यस विषयलाई पनि एउटा अनुसन्धानका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि लालकाजी लामाले प्रविधिको विकाससँगै क्यालिग्राफी जस्ता कलाले धेरै चुनौती भोगिरहेको बताउनुभयो । उहाँले कलामा मानवीय चेतनाको आवश्यकता धेरै हुने भन्दै यसमा फन्ट, डिजाइन, भाव र सौन्दर्य पनि समेटिने जानकारी गराउनुभयो ।