• १३ साउन २०८१, आइतबार

पन्चैबाजा संरक्षणमा जुटे महिला

blog

सिराज खान

नेपालगन्ज, असार ७ गते । बाँकेका महिलाहरू मौलिक संस्कृति र परम्परा जोगाउन सक्रिय भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ का महिलाहरू पन्चैबाजा संरक्षण समूह नै गठन गरेर मौलिक संस्कृति र परम्परा जोगाउन दिनरात क्रियाशील  रहँदै आएका छन् । 

पन्चैबाजा संरक्षण समूहमा आबद्ध मैसरी खत्रीले समाजबाट मौलिक संस्कृति र परम्परा लोप हुन थालेपछि समूह नै बनाएर संरक्षणमा जुटेको बताउनुभयो । 

अचेल उहाँहरू हरेकजसो विवाहलगायतका कार्यक्रममा पन्चैबाजा बजाएर अरूलाई पनि त्यसतर्फ प्रोत्साहित गरिहनुभएको छ । खत्रीका अनुसार पन्चैबाजा समूहमा १९ जना महिला आबद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्की (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङा र नेपाली पोसाक  छन् । 

महिलाहरूको प्रयासलाई गाउँपालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । राप्तीसोनारीका अध्यक्ष हर्कबहादुर विष्टले लोप हुँदै गएको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाई राख्न महिला समूहलाई पन्चैबाजा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८, ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पुर्खाले पहाडमा जोगाई राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगाउने उद्देश्यले पन्चैबाजा समूह गठन गरिएको हो । 

समूहमा आबद्ध रहनुभएकी भीमा विष्टले समूहले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै आम्दानी पनि गरिरहेको बताउनुभयो । उहाँका अनुसार सो समूहको कोषमा अहिले पन्चैबाजा बजाएर नै ६५ हजार रुपियाँ जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले एक लाख ३२ हजार रुपियाँ कमाएको छ । बाजा बजाउन पन्चैबाजा समूहका महिलाहरू बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यान हुँदै रुकुमसम्म पुग्ने गरेका छन् । सो समूहमा ३० देखि ६५ वर्षसम्मका महिला आबद्ध छन् ।