• १४ असार २०८१, शुक्रबार

मनसुन सुरु भएको साता दिनमै आठको मृत्यु, २७ बेपत्ता

blog

काठमाडौं, असार ६ गते । मनसुन सुरु भएको एक हप्ताभित्रै बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । राष्ट्रिय विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार देशको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङ् र संखुवासभामा शनिवार र आइतबार आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या आठ पुगेको हो । छ जना घाइते छन् । 

बाढी र पहिरोमा परी पाँचथरमा तीन, ताप्लेजुङ्मा तीन र संखुवासभामा दुई जनाको मृत्यु भएको छ । यस्तै पाँचथरमा एक, ताप्लेजुङ्मा दुई र संखुवासभामा तीन जना घाइते भएका छन् । 

बाढी र पहिरोमा परी पाँचथरमा तीन, ताप्लेजुङ्मा तीन र संखुवासभामा दुई जनाको मृत्यु भएको छ ।

बेपत्ता २७ मध्ये पाँचथरमा तीन, ताप्लेजुङ्मा तीन र संखुवासभामा २१ जना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, ३८ घरमा पूर्णरुपमा क्षति पुगेको छ । जसमध्ये पाँचथरमा नौ, ताप्लेजुङ्मा ११ र संखुवासभामा १८ घरमा पूर्णरुपले क्षति पुगेको छ । 

कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार चार वटा मोटरेवल पुल र ६ वटा झोलुङ्गे पुलमा पूर्णरुपले क्षति र चार वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ । मन्त्रालयका प्रवक्ता रेवतीरमण पराजुलीका अनुसार बाढी र पहिरोका कारण  भौतिक पूर्वाधारमा भएको क्षतिको वास्तविक विवरण आउन बाँकी छ ।  

उहाँले भन्नुभयो, “शनिवार र आइतबार आएको बाढी र पहिरोका कारण मानवीय साथै पूर्वाधारमा पनि क्षति भएको छ । क्षतिको वास्तविक विवरण आउन बाँकी रहेको भए पनि प्रारम्भिक जानकारीअनुसार चार मोटरेबल पुल, छ वटा झोलुङ्गे पुलमा पूर्णरुपमा क्षति पुगेको देखिएको छ । पाँच वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ ।”

यस्तै, केही जलविद्युत आयोजनामा पनि क्षति भएको भन्ने खबर आए पनि के–कति क्षति भएको हो भन्ने वास्तविक विवरण भने नआएको उहाँको भनाइ छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव ध्रुववहादुर खड्काका अनुसार प्राय मानिसहरु राति सुतेको समयमा बाढी पहिरो आएका कारण भाग्न नसकेकाले पनि क्षति बढी भएको हो ।

यता, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव ध्रुववहादुर खड्काका अनुसार प्राय मानिसहरु राति सुतेको समयमा बाढी पहिरो आएका कारण भाग्न नसकेकाले पनि क्षति बढी भएको हो । उहाँका अनुसार बाढी पहिरो गएका अधिकांश ठाउँहरु तटीय क्षेत्रमा पर्ने र आयोजनाका काम गर्दैगर्दा बाढी पहिरो आएका कारण पनि क्षति बढी भएको छ । 

उहाँले भन्नुभयो, “बाढी पहिरो गएका अधिकांश स्थान तटीय क्षेत्रमा पर्ने भएका कारण पनि बाढीले बढी क्षति गरेको छ । केही मानिस जलविद्युत आयोजनाका काम गर्दैगरेको अवस्थामा भएका कारण पनि एक्कासी बाढी आउँदा क्षति बढी भएको हो ।”

पूर्वमा बढी वर्षाका कारण 

जेठ ३१ गते पूर्वी भेगबाट भित्रिएको मनसुन चारदेखि पाँच दिनमा देशैभर फैलनुपर्ने हो । तर एक हप्ता बिते पनि हालसम्म पनि मनसुन मध्यपश्चिम भेगबाट पश्चिममा सर्न सकेको छैन । जसका कारण देशको कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला बाहेक पश्चिमी भागमा बर्षा नभएको मौसम विज्ञान विभागले जनाएको छ । 

मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल मनसुन म्याग्दी जिल्लाबाट पश्चिमतर्फ सरेको छैन । देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढी रहेकाले मनसुन सर्न नसकेको अधिकारीको भनाइ छ । 

मनसुन नेपाल भित्रिएको पाँच दिनसम्म सबै भुभागमा पुग्नुपर्ने हो, तर अहिले पूर्वी भेगमा मात्र सक्रिय रहेको छ ।

उहाँले भन्नुभयो, “मनसुन नेपाल भित्रिएको पाँच दिनसम्म सबै भुभागमा पुग्नुपर्ने हो, तर अहिले पूर्वी भेगमा मात्र सक्रिय रहेको छ । जसलेगर्दा बाढी र पहिरो गएको हो । पश्चिममा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत छ । जसका कारण मनसुन पुग्न सकेको छैन ।” 

उहाँका अनुसार अझै केही दिन पश्चिमी भेगमा मनसुन पुग्ने सम्भावना छैन । अहिले धनगढीको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।