• १३ साउन २०८१, आइतबार

मालिकामा कृषि खेतीलाई प्राथमिकता दिने नीति

blog

गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार ६ गते । म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना र पालिकावासीलाई आत्मनिर्भर बनाउन "खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको" भन्ने नारालाई आत्मसाथ गर्दै तरकारी र फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि मङ्गलबार गाउँपालिकाको १३ औँ गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रममा फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरेर व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

कृषि उपजको आयात प्रतिस्थापन गर्न र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताउनुभयो  । 

गाउँपालिकाले ‘युवाको ऊर्जा मालिकाको औजार’ कार्यक्रमअन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरणसँगै सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने नीति बनाएको छ । 

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । बसाइसराइ र वैदेशिक रोजगारका कारण गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय सम्भावनाको खोजी र उजागरका विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको अध्यक्ष गर्बुजाले बताउनुभयो । 

वैदेशिक रोजगारबाट फर्केका युवाले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ ।