• १२ साउन २०८१, शनिबार

पोखरा महानगरद्वारा पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो

blog

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य । फाइल तस्बिर

गण्डकी, असार ६ गते । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल—चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताउनुभएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

निर्देशक डा. रेग्मीले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरू पोखरा आउने सम्भावना उच्च रहेको बताउनुभयो । उहाँले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समयसमयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरू वृद्धि गर्न सकिने बताउनुभयो ।

निर्देशक डा. रेग्मीले भन्नुभयो, ‘‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरू पनि यहाँबाट बढाउँदै लैजान सकियो भने विमानस्थल नियमित सुचारु हुनसक्छ । यहाँ हामीले विभिन्न फेस्टिबलहरु बारम्बार गरिरहनुपर्छ । दोस्रो मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’’

कार्यक्रममा बोल्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताउनुभयो । उहाँले चीनका विभिन्न नगरहरूसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि बताउनुभयो । प्रमुख आचार्यले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य सहरहरूबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको बताउनुभयो ।

‘‘यस सुखद् विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु । चीनका विभिन्न नगरहरूसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको छु ।,’’  प्रमुख आचार्यले भन्नुभयो, ‘‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरूमा पनि त्यहाँका विभिन्न मुख्य सहरहरूबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरूलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनका लागि सम्बन्ध विस्तार हुने अपेक्षा राखेको छु ।’’ प्रमुख आचार्यले चिनियाँ नागरिकहरूलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिनुभयो ।