• १२ पुस २०८१, शुक्रबार

कर्णालीमा विमानस्थल : कुरा धेरै, सञ्चालन थोरै

blog

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित मसिनेचौर विमानस्थल । तस्बिर : रजनी

रजनी योगी

सुर्खेत, असार ६ गते । निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन। 

त्रिपुरासुन्दरी नगरपालिकामा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो। २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे गरिएको हो। डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पका रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो। समयमै निर्माण गरिए पनि सञ्चालनमा बेवास्ता गरिएको छ।

निर्माण सम्पन्न भएको वर्षौंसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–७ का स्थानीय विष्णुलाल केसीले विमानस्थल बने पनि हवाई सेवाबाट वञ्चित हुनु परेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “घरआँगनमा विमानस्थल बनेको छ। सञ्चालनमा छैन। हवाई सेवा लिन एकदिनको पैदल यात्रा गरेर जुफाल विमानस्थल जानुपर्ने बाध्यता छ।”

घरआँगनमै विमानस्थल बने पनि कष्टपूर्ण यात्रा गर्नु परिरहेको स्थानीयको दुःखेसो छ। मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक पटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकले गुनासो गरेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय टीकादत्त न्यौपानेले विमानस्थल नियमित सञ्चालन गर्न माग गरिएको बताउनुभयो। सडक मार्गको सहज पहुँच नभएकाले विमानस्थल अपरिहार्य भएको न्यौपानेको भनाइ छ।

पटक पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ। यद्यपि सञ्चालनका लागि पहल भइरहेको डोल्पाका जनप्रतिनिधि बताउँछन्। विमानस्थलको परीक्षण तथा नियमित उडानका लागि पहल भइरहेको डोल्पाबाट निर्वाचित प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो। प्राविधिक र पूर्वाधार निर्माणका हिसाबले विमानस्थल सञ्चालन गर्न पूर्ण रूपपमा योग्य छ तर हालसम्म परीक्षण उडानसमेत भएको छैन।

स्तरोन्नतिको पर्खाइमा जुफाल

डोल्पास्थित अर्को जुफाल विमानस्थल भने नियमित सञ्चालन भइरहेको छ। २०३२ सालदेखि निर्माण थालिएको विमानस्थल २०७० मा कालोपत्रे गरिएको थियो। त्यसयता विमानस्थल नियमित सञ्चालन भइरहेको छ। ५७० मिटर धावनमार्ग रहेको विमानस्थलमा चार वटा जहाजले उडान गर्दै आइरहेको विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो। नियमित रूपमा विमानस्थल सञ्चालनमा छ। दिनमा तीन÷चार वटा विमानले आवतजावत गर्ने गरेका छन्। यद्यपि यो विमानस्थल पनि स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ। विमानस्थलको केही भूभाग जमिनमा दबेको छ। दबेको भागलाई मर्मत गर्नुपर्ने देखिएको प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो। उहाँले भन्नुभयो, “मसिनेचौर विमानस्थल सञ्चालन गरेर जुफाल विमानस्थलको स्तरोन्नति गर्नुपर्ने पहल हामीले गरेका छौँ।” जुफाल विमानस्थलबाट डोल्पा–नेपालगञ्ज उडान हुने गरेको छ।

सिमकोटको हालत उस्तै

हिमाली जिल्ला हुम्लाका लागि यातायातको मुख्य माध्यम नै हवाई सेवा हो। सहज सडक पहुँच नभएकाले अन्य जिल्लासँग हवाई मार्गले नै जोड्दै आएको छ तर विमानस्थल पूर्वाधार सम्पन्न नहुँदा हवाई सेवा पनि सुरक्षित र भरपर्दो हुन सकेको छैन। जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था कायमै छ। विगत चार दशकदेखि हुम्लामा हवाई सेवा सञ्चालन हुँदै आएको छ। सदरमुकाममा रहेको सिमकोट विमानस्थल २०३६ सालबाट सञ्चालनमा आएको छ। २०३४ सालमा निर्माण थालेर २०३५ सालमा परीक्षण उडान गरिएको हो। त्यसको अर्को वर्षदेखि नियमित उडान थालिएको हो। सञ्चालमा आएको ४४ वर्ष भइसक्दा पनि विमानस्थलमा आवश्यक पूर्वाधारको निर्माण भने भएको छैन। पूर्वाधार विकाससहित सिमकोट विमानस्थल स्तरोन्नतिको पर्खाइमा छ। यात्रुको चाप हुने विमानस्थलमा भौतिक संरचना जीर्ण अवस्थामा छन्। टर्मिनल टावरसमेत जीर्ण अवस्थामा रहेको विमानस्थल प्रमुख मोहन गिरीले बताउनुभयो। उहाँका अनुसार हेलिकोप्टर पार्किङका लागि पनि पर्याप्त ठाउँ छैन। हेलिकोप्टरको सङ्ख्या वृद्धि हुँदा खाली जग्गामा पार्किङ गर्नुपर्ने बाध्यता रहेको गिरी बताउनुहुन्छ। 

रारामा पूर्वाधार निर्माण ढिलाइ

मुगुको रारा विमानस्थलमा आवश्यक पूर्वाधार नै निर्माण गरिएको छैन। काठको टहरोमा उपकरण जडान गरेर टर्मिनल टावर बनाइएको छ। जीर्ण अवस्थामा रहेको टर्मिनल टावरकै भरमा एक दशकभन्दा लामो समयदेखि विमानस्थल सञ्चालन गरिएको छ। टर्मिनल टावर मात्रै होइन अन्य पूर्वाधारमा समेत सुधार भएको छैन। विमानस्थलमा घेराबार गरिएको छैन। घेराबार नहुँदा पशुचौपाया विमानस्थलमै पस्ने गरेका छन्। पशुचौपाया धपाएर जहाज अवतरण गराउने गरिएको विमानस्थल प्रमुख रोमन भट्टराईले जानकारी दिनुभयो। विमानस्थलसम्म पुग्ने सडकको समस्या छ।

सल्यानमा सम्भाव्यता अध्ययन

सल्यानमा विमानस्थल निर्माणका लागि विभिन्न क्षेत्रमा पटक पटक चर्चा र अध्ययन हुने गरेको छ। २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानका चार ठाउँमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको थियो। वर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पहलमा विमानस्थलका लागि अध्ययन गरिएको थियो। शारदा नगरपालिका–२ को चन्द्रपाला, वडा नं. ५ को पिपलनेटा र कालीमाटी गाउँपालिका–१ को कोटबयालेमा सम्भाव्यता अध्ययन गरिएको थियो। त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छैन। सल्यानमा विभिन्न चरणमा धेरै पटक अध्ययन भए पनि कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर प्रतिवेदन सार्वजनिक नभएपछि नागरिकसमेत निराश बनेका छन्।

सल्यानबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले विमानस्थल निर्माणको काम अघि बढाउन विभिन्न क्षेत्रसँग पहल गरिरहेको बताउनुभयो। नागरिकको चाहना र आवश्यकताका आधारमा विभिन्न चरणमा सम्भाव्यता अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो। सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जिल्लामा विमानस्थल निर्माणको योजना अघि बढाइने जानकारी दिनुभयो। विभिन्न चरणमा अध्ययन भए पनि अन्तिम प्रतिवेदन सार्वजनिक नभएको भन्दै उहाँले आधिकारिक प्रतिवेदनबमोजिम यो काम सुरु गरिने जानकारी दिनुभयो। 

चौरजहारीमा सेवा बन्द

रूकुमपश्चिमको चौरजहारी विमानस्थल चार वर्षदेखि बन्द छ। २०७६ सालसम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यस यता भने सञ्चालन हुन सकेको छैन। अहिले हवाई सेवा पूर्ण रूपमा बन्द छ। रूकुमसहित छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पालाई समेत लक्षित गरी २०२८ सालमा चौरजहारी विमानस्थल बनाइएको थियो। विमानस्थल बनेदेखि २०४९ सालसम्म नियमित उडान भएको स्थानीय रिरुप्रसाद लामिछानेले बताउनुभयो। त्यसपछि कहिले सञ्चालनमा आउने र कहिले बन्द हुने क्रम चलिरहेको छ। २०५० देखि २०५५ सालसम्म आंशिक रूपमा विमानस्थल सञ्चालन भएको थियो। २०५५ देखि २०६१ सम्म भने विमानस्थल पूर्ण रूपमा बन्द भयो। त्यसपछि पुनः २०६२ देखि २०७० सालसम्म पनि आंशिक रूपमा चल्यो। त्यति बेला जहाजको कमीका कारण फाटफुट चलेको थियो।

कार्यालय नै अर्को प्रदेशमा

विमानस्थल सञ्चालनका लागि कतिसम्म लापरबाही गरिएको छ भने चार वर्षदेखि उडान बन्द गरेर कार्यालय नै अर्को प्रदेशमा सारिएको छ। कर्णाली प्रदेशको रूकुमपश्चिममा रहेको विमानस्थलमा उडान हुन छाडेपछि टावर घरमा ताला लागेको छ। यात्रुलाई टिकट दिने, जहाज चढाउने र अरू व्यवस्थापनको काम गर्ने नेपाल वायु सेवा निगमले चौरजहारीबाट कार्यालय नेपालगञ्ज सारेको छ। विमानस्थलमा रहेका सबै सामान नेपालगञ्ज लगिएको छ। विमानस्थल सञ्चालन हुन सक्ने अवस्थामा हुँदाहुँदै पनि बन्द गरेर कार्यालय नै लुम्बिनी प्रदेशमा सारिएको हो। यसअघि नेपाल वायु सेवा निगम चौरजहारी कार्यालयका जुनियर सहायक स्टेसन इन्चार्जको काम गरेका सुरेन्द्र नेपालीले विमानस्थल अहिले पनि पूर्ण रूपमा सञ्चालन गर्न योग्य रहेको जानकारी दिनुभयो।

सुनथरालीमा जहाज उडाउन आलटाल

कालीकोटस्थित सुनथराली विमानस्थल सञ्चालनका लागि आवश्यक निर्माणको काम सकिएको छ। यद्यपि विविध कारण देखाउँदै परीक्षण उडान पर धकेलिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो। उहाँका अनुसार नेपाल वायु सेवा निगमले अहिले जहाज नभएको भन्दै परीक्षण उडान गर्न ढिलाइ गरेको छ। 

वैशाख १ गते गर्ने भनिएको परीक्षण उडान आगामी असारमा गर्ने तयारी गरिएको बताइएको छ। कालीकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनथराली विमानस्थलमा असारभित्रै परीक्षण उडान गरिने जानकारी दिनुभयो। उहाँले नियमित उडान हुने गरी नै परीक्षण उडान गरिने जानकारी दिनुभयो। नियमित उडान हुने गरी सबै पूर्वाधार तयार गरेर मात्रै परीक्षण उडान गर्नु उपयुक्त हुने शाहीको भनाइ छ। कालीकोटबाट निर्वाचित प्रदेश सभा सदस्य दुर्गबहादुर रावतले आउँदो असारसम्म भए पनि परीक्षण उडान गर्ने गरी समन्वय भइरहेको बताउनुभयो। वैशाखमा प्राविधिक काम नसकिएका कारण उडान नगरिएको भन्दै उहाँले सङ्घीय पर्यटनमन्त्रीसँग आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो। 

दैलेख र जाजरकोटमा चर्चा मात्रै

दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो। महाबु गाउँपालिका–२, मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो तर त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन। महाबुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिए पनि काम अघि बढेको छैन। नारायण नगरपालिकाको धिताहा, महाबु गाउँपालिकाको मानन्चौर र दुल्लु नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो। यो विषय अहिले भने ओझेलमा परेको छ। पछिल्ला वर्षमा पनि दैलेखमा विमानस्थल बनाउनुपर्ने माग र चर्चा चलिरहन्छ। २०७३ सालमा दुल्लु नगरपालिका–५ को ठाडोलेखमा विमानस्थल बन्ने कुरा चर्चामा थियो। त्यति बेला त्यहाँका नागरिक उत्साहित बने। अहिले उक्त कुरा चर्चा हुनसमेत छोडेको छ। त्यति बेला नगरपालिकाका दुई/तीन स्थानमा विमानस्थल निर्माणका लागि भनेर सम्भाव्यता अध्ययन गर्ने कुरा गरिए पनि काम अघि बढ्न सकेन। 

जाजरकोटमा पनि चर्चा

कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ। भेरी नगरपालिका–१, वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ। विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भए पनि थप प्रव्रिmया भने अघि बढ्न सकेन। नगरपालिकामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको कामसमेत सुरु नभएको उपप्रमुख सीता जैसीले बताउनुभयो। जाजरकोटलाई समेत लक्षित गरेर रूकुमपश्चिममा विमानस्थल सञ्चालन गरिएको छ।

विस्तार योजना ओझेलमा

सुर्खेत विमानस्थल विस्तारको योजना ओझेलमा पर्दै गएको छ। विगतमा लगातार प्रदेश र सङ्घीय सरकारबाट विमानस्थल विस्तारका लागि बजेट छुट्याउने गरिए पनि पछिल्लो दुई वर्षदेखि भने उक्त योजना अलपत्र परेको हो। जग्गा अधिग्रहण गरेर धावन मार्ग विस्तार गर्ने योजनाबाट एक वर्षअघि मात्रै पछि हटेको कर्णाली प्रदेश सरकारले आगामी बजेटमा विमानस्थललाई प्राथमिकतामा राखेको छैन। यद्यपि, सुर्खेत विमानस्थल स्तरोन्नति गर्नका लागि सङ्घीय सरकारसँग समन्वय र पहल गर्ने मात्रै भनिएको छ। विगतमा बजेट नै विनियोजन गर्ने गरिएको थियो। सङ्घीय सरकारले सुर्खेत विमानस्थलको विकल्पमा भेरीगङ्गामा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन गर्ने योजना अघि सारेको छ।

सुर्खेत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानीले सबैको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने बताउनुभयो । नागरिकको सहजताका लागि विमानस्थलको विकल्प नरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “सुर्खेत विमानस्थलको विकल्प छैन, स्थानीयलाई चित्तबुझ्दो मुआब्जा दिएर विस्तारको काम अघि बढाउन आवश्यक छ।” अन्य स्थानमा विमानस्थल सार्नेभन्दा पनि भएको विमानस्थललाई स्तरोन्नति गर्नतर्फ अघि बढ्नुपर्ने उहाँको सुझाव छ। हाल सुर्खेत विमानस्थलको एक हजार २५० मिटर रनवे छ। अब तीन सय मिटर रनवे विस्तार गरेमा सहज रूपमा एटीआर–७२ जहाज अवतरण र उडान गर्न सकिने भएकाले विमानस्थल विस्तार गर्नु नै उपयुक्त विकल्प हुने थानीको भनाइ छ। अन्य स्थानमा पनि आवश्यकताका आधारमा विमानस्थल विस्तार गर्न सकिने उहाँले बताउनुभयो।