• १२ साउन २०८१, शनिबार

आमाहरू भन्नुहुन्छ : भित्री संसार हेर्ने आँखा खुल्यो

blog

काठमाडौं, असार ५ गते । काठमाडौंको गोङ्गबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा विभिन्न उमेर समूहका महिला नर्सरी तहदेखि कक्षा १० सम्म पढ्छन् । विद्यालयमा करिब तीन सय ५० जना दिदीबहिनी पढ्दै आएका छन् । सोही विद्यालयबाट कक्षा १० को एसइई २०७९ मा ७० वर्षीय ज्येष्ठ नागरिकले परीक्षा दिनुभएको छ । 

कक्षा २ मा पढ्दै गर्नुभएकी ५२ वर्षीय कुमारी डङ्गोल भन्नुहुन्छ, “पढ्ने मन पहिलादेखि नै थियो तर भ्याइएन । समय निकालेर आफ्ना लागि आफैँले गर्नुपर्छ भनेर पढ्न सुरु गरेको ।” 


अचेल उहाँककी भाउजु भर्खर नर्सरीमा पढ्दै हुनुहुन्छ । उहाँकी भाउजू सँगसँगै विद्यालय आउने, जाने गर्नुहुन्छ । उहाँकी ५४ वर्षीय भाउजू पार्वती महर्जनले भन्नुभयो, “सानोमा पढ्न पाइएनँ । पढ्न एकदम रहर लाग्यो । फुर्सद पनि पाइयो । अहिले अलि–अलि वान, टु..ए, बी, सी, डी सिक्दैछु ।” 

यस्तै, ४५ वर्षीय गीता गिरी कक्षा ८ मा पढ्नुहुन्छ । उहाँलाई सन्तान हुर्कदै जाँदा लाग्यो कि, बच्चाको विद्यालयतिर जाँदा केही पनि थाहा नपाएको, नजानेको जस्तो अनुभव भयो । जता जाँदा पनि पढ्नपर्ने रहेछ भन्ने लाग्यो । उहाँको छोरा अहिले कलेज पढ्दैछन् ।


गिरीले भन्नुभयो, “पहिला पढ्न नपाएको त होइन तर त्यति मतलब भएन । अस्पतालमा जाँदा एउटा कुपन काट्न आउने थिएन । यति नम्बरमा जानुस् भन्नुहुन्छ, कता जाने थाहा पाइने थिएन । अंग्रेजीबाट महिला र पुरुष लेखेको शौचालय पनि बुझ्ने थिएनौं । अब त खुरुखुरु जान सक्यौं ।” उहाँको यसै विद्यालयबाट एसईई दिने लक्ष्य छ ।

कक्षा ८ मा पढ्दै आउनुभएकी ४८ वर्षीय बिन्दा भण्डारी सधैं बिहानको १०ः१५ बजे नियमित विद्यालय आउनुहुन्छ । घर भान्छा, सरसफाइ सबै काम सकेपछि विद्यालय आउन निकै रमाइलो लाग्ने उहाँको भनाइ छ ।


उहाँलाई उहाँकी छोरीले विद्यालय भर्ना गर्दिनु भएको रहेछ । उहाँले भन्नुभयो, “हाम्रो बाहिर दुईवटा आँखा हुँदो रहेछ । पढेपछि संसार देख्ने भित्री आँखा खुलाउँदो रहेछ । हाम्रो पालामा छोरीलाई पढाउने चलन थिएन । सानैमा बिहे गरिदिनुभयो । अब एसईई दिने, ११, १२ पनि पढ्ने हो ।”


कक्षा ८ मै पढ्दै हुनुहुन्छ ६८ वर्षीय कमल शशी । पहिला गाउँघरमा छोरालाई मात्रै पढाउने चलन भएकाले त्यो बेला पढ्न नपाएको गुनासो उहाँले गर्नुभयो । साथीबाट चेतना महिला विद्यालयबारे थाहा पाएपछि यहाँ पढ्न आएको भनाइ छ । 

उहाँले भन्नुभयो, “पढेको र नपढेको धेरै फरक हुँदो रहेछ । बजारमा सामान किन्न जाँदा अक्षर चिनेपछि सजिलो हुँदो रहेछ । के गर्नु अब त उमेरले तल–तल तानिसक्यो, मन चाहिँ माथि–माथि जाऊँ भन्छ ।”

चेतना महिला मावि वि.संं. २०६२ मा स्थापना भएको हो । सुरुमा कक्षा पाँचसम्म अध्यापन हुन्थ्यो भने वि.सं.२०६७ देखि कक्षा १० सम्मको पढाइ हुन थाल्यो । प्रधानाध्यापक कृष्णदेवी श्रेष्ठले दिदीबहिनीको इच्छा पूरा गर्न नै विद्यालय स्थापना गरिएको बताउनुभयो । 

प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, “आफू चाहिँ क्याम्पस पढ्न जाने, हामीलाई चाहिँ ‘क’ पनि पढ्न नआउने भनेर गुनासो गर्न थाले । सुरुमा ८, १० जना पढ्न आउनुभाथ्यो । एक महिनापछि ३०, ३५ जना जम्मा भए । सबै जना खुसी भएर पढ्ने विद्यार्थीकै सक्रियतामा यो स्कुल स्थापना भएको हो ।”

सरकारले यस विद्यालयलाई वैकल्पिक विद्यालयको मान्यता दिएको छ । घरमा प्रायः ज्येष्ठ सदस्य मात्रै रहने अवस्था र छोराछोरी विभिन्न सिलसिलामा बाहिर हुने हुँदा बसमा हिँड्डुल गर्दा, टेलिफोन चलाउनसमेत अप्ठ्यारो भएपछि आमा, दिदीबहिनीलाई पढाइ आवश्यक रहेछ भनेर विद्यालय आउने गरेको श्रेष्ठ बताउँनुहुन्छ । 

“कतै जाँदा कहाँको बस आयो ? के लेखेको छ, त्यो नपढेपछि समस्या भयो । त्यसैले उनीहरु पढ्न खोजिरहेका छन् ।” उहाँले भन्नुभयो, “जीवनमा उमेर भइन्जेल बेस्सरी काम गर्‍यो तर, काम गर्न नसक्ने बेलामा पनि कमसेकम बाँच्न त पर्‍यो, अक्षर चिन्यो भने किताब पढेर पनि बस्न सकिन्छ भनेर सम्झाउँछु ।” 

छोरी भनेको अर्काको घर जाने जात हो भनेर आफूलाई पनि कहिल्यै आफ्ना बाबुआमाले पढ् समेत भनेको सम्झना स्वयम् प्रधानाध्यापक श्रेष्ठलाई पनि छैन । “आफू पास हुँदा आफू मात्रै खुसी हुनुपर्थ्यो तर भगवानले मलाई शक्ति दिनुभयो”, उहाँले आफू विद्यालय पढेको समय स्मरण गर्नुभयो । 

चेतना महिला माविमा अहिले ११ जना शिक्षकले अध्यापन गर्नुहुन्छ । कक्षा १ देखि पाँचसम्म मासिक शुल्क पाँच  सय रुपियाँ छ । कक्षा ६ देखि एक–एक सय बढाएर शुल्कको निर्धारण गरिएको श्रेष्ठले बताउनुभयो । अर्काको घरमा काम गर्दै पढेका अर्थात् आर्थिक स्थिति कमजोर भएकालाई ५० प्रतिशत शुल्क कम गरिएको छ । उहाँले शिक्षकलाई अत्यन्तै कम तलब वितरण हुँदा आफैंलाई पनि दुःख लाग्ने गरेको गुनासो व्यक्त गर्नुभयो । 

प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा थप कक्षा ११ र १२ सम्मको शैक्षिक गतिविधि सञ्चालन गर्ने भावी योजना रहेको सुनाउनुभयो ।

<
Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।