• ५ जेठ २०८१, शनिबार

मुकाबिला गर्न समाजवादी मोर्चा बनेको होइन : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनुभएको छ । आज मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

काँग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्नका लागि मोर्चा बनाउन लागिएको होइन नेता नेपालले भन्नुभयो, “प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने छ ।” मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उहाँले प्रष्ट पार्नुभयो । प्रतिगमनका पक्षमा नभएकाहरू मोर्चासँग डराउन सक्ने उहाँले जिकिर गर्नुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । सिद्धान्तहीन मोर्चा पनि होइन । यो मोर्चा बिचारहीन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकताबद्ध हुने मोर्चा हो ।” 

सम्पूर्ण देशभक्त र समाजवादी शक्तिलाई हामी एकताबद्ध बनाएर लैजान चाहन्छौँ अध्यक्ष नेपालले थप्नुभयो, “हामी प्रष्ट के हुनुपर्छ भने हामी देशभक्त शक्तिलाई हातेमालो गर्दै अघि बढ्छौँ ।” हामी परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाएर लैजाने उहाँले बताउनुभयो । “हामी सबै शक्तिहरू, जो नेपाललाई समाजवादतर्फ लैजान चाहन्छन् । समाजवादी नेपालको निर्माण गर्न चाहन्छन् । उनीहरूलाई सँगसँगै हातेमालो गर्दै अघि बढाएर लैजान चाहन्छौँ । हामीमा कुनै किसिमको सङ्कीर्णता छैन ।”

सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गर्न नयाँ मोर्चा बनेको उहाँले दाबी गर्नुभयो । समाजवाद निर्माणको वातावरण तयार गर्न, सुशासनलाई सुनिश्चित गर्न, समाजमा भएका, राजनीतिमा भएका जति पनि विकृति, विसङ्गतिहरू छन्, त्यसलाई अन्त्य गर्न हामी एकताबद्ध भएर अघि बढ्न चाहेको उहाँले प्रष्ट पार्नुभयो । 

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरूलाई मोर्चामा आबद्ध हुन पनि आह्वान गर्नुभयो । उहाँले देशभक्त र क्रान्तिकारी शक्तिसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मुकाबिला जहिले पनि प्रतिगामी कदमविरुद्धमा हुनेछ । हाम्रो साथ अग्रगमनको पक्षमा हुनेछ ।”