• ७ मंसिर २०८१, शुक्रबार

योग्य कर्मचारी छनोटमा सफल

blog

काठमाडौँ, असार २ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोक सेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यको पुस्ताप्रति भरोसाको केन्द्र बन्नुपर्ने बताउनुभएको छ । उहाँले आयोगलाई सधैँ आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । 

लोक सेवा आयोगको ७३ औँ वार्षिकोत्सव समारोहको शुक्रबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुक सञ्चालन गर्ने स्थायी सरकारका रूपमा रहेको योग्यतम कर्मचारी छनोट गर्दै योग्यता, निष्पक्षता, विश्वसनीयता र स्वच्छतालाई आधार मान्दै कार्यसम्पादन गर्न सफल भएकामा आयोगको प्रशंसा गर्नुभयो । 

उहाँले भन्नुभयो, “कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले गलत भर्ना नीति र प्रक्रियाले प्रशासन सङ्गठनभित्र स्थायी खराबी प्रवेश गर्न सक्ने भएकाले आयोगले सधैँ त्यसलाई निरुत्साहित गर्नुपर्छ ।” 

योग्यताको धरातलमा उच्च नैतिकवान् र उत्प्रेरित कर्मचारीले मात्र सुशासन कायम गर्न टेवा पु-याउन सक्ने भन्दै उहाँले आयोगको भर्ना विधि र छनोटको प्रक्रिया यसैतर्फ लक्षित हुनुपर्नेमा जोड दिनुभयो । 

सुशासनको समग्र सिद्धान्त व्यवहार र जनताले अनुभूति गर्ने भएकाले यसलाई नारामा मात्र सीमित नराख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “आयोगले गर्ने भर्ना छनोटको उद्देश्य र आएका चुनौतीको सामना गर्न सक्ने र सबै खाले परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने खालका उत्कृष्ट मस्तिष्क भएको जनशक्ति प्रवेश गराउनुपर्छ ।” 

उपराष्ट्रपति यादवले मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि लोक सेवा आयोग ऐन जारी भएपछि आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका र दोस्रो रणनीतिक योजना कार्यान्वयनमा ल्याइएकोमा खुसी व्यक्त गर्नुभयो । 

उहाँले निजामती प्रशासनमा समावेशिता कार्यान्वयनमा आएदेखि आर्थिक वर्ष २०७८/७९ सम्म समावेशी समूहको विज्ञानबाट कुल २२ हजार ६९२ जना उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको थप प्रशंसनीय कार्य भएको बताउनुभयो ।  उहाँले ठुलो सङ्ख्यामा विदेश पलायन भएका बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकमा खटिनका लागि आमनागरिकलाई प्रेरित गर्न आयोगले आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले संवैधानिक आयोगमध्येको जेठो लोक सेवा आयोगले २००८ साल भदौ १८ गते पहिलो पटक छ वटा पदका लागि विज्ञापन गरेर आफ्नो कार्य प्रारम्भ गरेको बताउनुभयो । उहाँले आयोगले सधैँ योग्यता, निष्पक्षता र स्वच्छतालाई आधार मान्दै समानता र स्वस्थ प्रतिस्पर्धालाई सधैँ आत्मसात् गर्दै आएको स्पष्ट पार्नुभयो । आयोगका सचिव राजकुमार श्रेष्ठले आयोगले सधैँ व्यवस्थित र विश्वसनीय कार्य प्रणालीबाट उच्चस्तरको जनविश्वास आर्जन गरेको बताउनुभयो । आयोगले सधैँ आयोगको स्थापित मूल्य र मान्यतालाई क्षयीकरण हुन नदिई आयोगप्रतिको जनविश्वासलाई अक्षुण्ण राख्दै आएको स्पष्ट पार्नुभयो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शाखा अधिकृत खगेन्द्रप्रसाद भट्ट, नायब सुब्बा मनकुमारी श्रेष्ठ र कार्यालय सहयोगी सानुबाबु च्यामेलाई सम्मान गरिएको थियो । 

त्यस्तै सूचना प्रविधि सम्मान अन्तर्गत टाइपिस्ट नायब सुब्बा प्रेमकुमार सैँजु, कम्प्युटर अपरेटरद्वय हेमबहादुर खड्का र ज्ञानेन्द्र धिताललाई सम्मान गरिएको थियो । आयोगमा २०५२ पुस २१ देखि २०५८ पुस २० गतेसम्म आयोगको सदस्य पदमा रही कार्य गर्नुभएका डा. मधुनिधि तिवारीलाई पनि सम्मान गरिएको थियो ।