• २७ वैशाख २०८१, बिहिबार

ग्रामीण सडकले राजमार्ग जाेखिममा

blog

कर्णाली राजमार्गमा लगाएको सेफ्टीबार जीर्ण बन्दै । तस्विर : प्रेमराज सिम्ख

प्रेमराज सिम्खडा

कालीकोट, असार १ गते । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत, जुम्ला सडकमा लगाइएको फलामे सेफ्टी बार भाँचिएको छ । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको ग्रामीण सडक निमार्ण गर्दा आएको पहिरो र ढुङ्गाले भाँचेर जीर्ण बनेका छन् । 

एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएका सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ । स्थानीय तहले खनेका सडकले गर्दा राजमार्गको सेप्टीबार कतै भाँचिने कतै थिचिएर जीर्ण भएको हो । साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महसुस हुन्थ्यो । तर बार केही ठाउँमा भत्केको र केही ठाउँमा खिया लाग्दा कर्णाली राजमार्गको सडक यात्रा अहिले थप असुरक्षित बनेको छ । सेप्टीबार भाँचिएको ठाउँमा यात्रुले असुरक्षाको महसुस गरिरहेका छन् । 

गाडी चालक उपेन्द्र धितालले केही ठाउँको भाँचियो, केही ठाउँको खिया लागेर जीर्ण बन्यो । सेफ्टी बार नहुँदा भीरको खण्डमा गाडी चलाउन डरलाग्ने गरेको सुनाउनुभयो । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको अधिकांश भीर भएको ठाउँमा लगाइएको सेफ्टी बारले पहिले चालक र यात्रु सबैलाई सुरक्षित रहेको महसुस गराएको भएपनि पछिल्लो समय त्यो बार भत्केका कारणले कर्णाली राजामार्गको सडक असुरक्षित बनेको यातायात व्यवसायीको समेत गुनासो छ ।  

कर्णाली राजमार्गमा फलामे सेफ्टी बार र सडक पर्खाल बनाएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्क छ । प्रहरी प्रमुख जयश्वर रिमालले एक दशक अघिसम्म महिनैपिच्छे दुर्घटना हुने राजमार्गमा सेफ्टी बार र साइड पर्खाल बनेपछि फाटफुट मात्र दुर्घटना भएको सुनाउनुभयो । प्रहरी प्रमुख रिमालले यो सेफ्टीबार दुर्घटना रोक्ने राम्रो माध्यम बनेकाले पुन मर्मत गर्नु पर्ने सुनाउनुभयो । 

कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटु भीर, कालीकोटको बिर्तामोड, टिमुरे, ताडी भीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा फलामे सेफ्टी बार हालिएको थियो । तर अधिकांश ठाउँका बार वर्षाको पहिरो र माथिबाट खसेको ढुङ्गाले भाँचिएका छन । कर्णाली राजमार्गको डरलाग्दो ठाउँमा सेफ्टीबार लगाइएपछि कर्णाली राजमार्ग हुँदै रारा जाने आन्तरिक पर्यटकले पनि सुरक्षित महसुस गर्ने गरेका थिए । 

कोशी प्रदेशको दमकवाट रारा घुम्न आउनुभएका नगेन्द्रप्रसाद आचार्यले कर्णाली राजमार्गको सडक छेउमा लगाएको फलामे सेफ्टीबारले यात्रुलाई सुरक्षित छौं भनेर महसुस गराएको सुनाउनुभयो । उहाँले भत्केका ठाउँमा तत्काल मर्मत गर्नुपर्ने माग समेत गर्नुभयो । 

सुर्खेत दैलेखका विभिन्न भिर क्षेत्रसँगै कालीकोट जिल्लाको दैखोला, छाती भीर, कालेखोला, जीते, हुल्मभीर, सेरिघाट, ताडी भीर, गल्ली, मौलाकाटिया, बिहानी, छारेगाड, सिम्लागाड, पिली, सेरावाडा, विर्तामाेड, चौखोला, टाकुल्ला, टिमुरे, जाल्जे, खल्लागाड, जुम्लाको रारालिही, कुडारीलगायतका ठाउँका फलामे बार जीर्ण छन् ।