हरेक वर्षले नयाँ अवसर लिएर आउँछ तर के हामीले ती अवसर पूरा उपयोग गर्न सक्यौँ त ? यो प्रश्न हामीले आफूलाई नै गर्नु पर्छ । प्राप्त अवसरलाई पूर्णरूपमा प्रयोग गर्न सक्यौँ भने हामी पक्कै आफ्नो जिन्दगीमा सफल हुन्छौँ । नयाँ वर्षले मानिसलाई नयाँ जोश र उमङ्ग दिन्छ । जसको सहयोगबाट मानिसले आफ्नो व्यक्तिगत प्रगति हासिल गर्छ । अघिल्ला वर्षमा भएका गल्तीलाई बुझेर सुधार गर्ने हो भने विभिन्न क्षेत्रमा विभिन्न अवसर प्राप्त गर्न सकिन्छ ।
विसं २०८१ को नयाँ वर्षले मेरो जीवनमा प्रगतिको दियो जलायो । मैले सर्वप्रथम आफ्नो सम्पूर्ण अग्रज तथा गुरुको आशीर्वाद लिएर अगाडि बढेँ । हाम्रो ठाउँ खलकमा भन्ने गरिन्छ वर्षको सुरुवात शुभ रह्यो भने पूर्ण वर्ष नै शुभ हुन्छ । त्यो वैशाख १ गते मलाई भनिरह्यो, “गएको वर्षमा भएका गल्तीलाई किन दोहोर्याउने ? त्यसलाई सोचेर किन अन्धकारतर्फ लग्ने ? यो तिम्रा लागि नयाँ अवसर मात्र होइन नयाँ चुनौती पनि हो । अब तिमीले आफ्ना गल्तीलाई सुधार्नु पर्छ । दुःखले भरिपूर्ण भएको दिनलाई सुखको चमत्कारले मार्ने क्षमता राख्नु पर्छ ।”
यसरी नै मैले वर्षको सुरुवात गरेँ । अवसरसँगै चुनौती पनि आए । ती चुनौती पार गर्दा सफलता पनि प्राप्त हुन सक्यो । परिश्रम एउटा यस्तो साथी हो जसलाई आफ्नो जीवनको साथी सम्झेर अगाडि बढ्नुभयो भने त्यसले तपाईंको हरेक असफलतालाई हटाउँछ । मैले पनि गएको वर्ष परिश्रमलाई मेरो साथीका रूपमा अपनाएँ । मैले आफूले सक्ने जति प्रयास र परिश्रम गरेँ । मैले कल्पना गरेकामध्ये ८० प्रतिशत योजना सफल भएका छन् ।
म पहिला दुई जनाको अगाडि बोल्न सक्दैन थिएँ । अहिले दुई हजार मानिसको अगाडि बोल्न सक्छु । गत वर्ष धेरै जना विद्यार्थीका सामु बोल्दा मेरो आत्मविश्वास निकै बढेको छ । भाषिक क्षमता पनि बढेको छ । औपचारिक शिक्षामा पनि विकास भएको छ । कठोर मेहनत गरिरहेँ । अन्तिममा म प्रथम त्रैमासिक परीक्षामा प्रथम स्थान हासिल गर्न सफल भएँ । योभन्दा पहिला दोस्रो स्थान प्राप्त गर्थें । क्रिकेट खेलमा पनि राम्रो गर्न सफल भएँ ।
दसैँमा आफू जन्मेको स्थानमा जाऊँला र त्यहाँ गएर सम्पूर्ण परिवारजनसँग बसेर दसैँ मनाऊँला भन्ने योजना बनाएको थिएँ । सोचेको र चाहेको हरेक इच्छा कहाँ पूरा हुन सक्छ ? यो योजना अधुरो रह्यो । मेरो योजना अनुसार दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि राम्रो आएन । मैले प्रयास त यस पटक पनि गरेको हो तर प्रथम त्रैमासिक परीक्षा जस्तो नतिजा आएन । मैले यो वर्षमा अङ्ग्रेजी विषय पूर्ण रूपले सिक्ने पनि योजना बनाएको थिएँ तर मेरो दोस्रो त्रैमासिक परीक्षाले यो योजना भङ्ग गरिदियो तर पनि मैले आफ्नो प्रयास निरन्तर गरिरहेको छु । जिन्दगीमा परिश्रम निरन्तर गरिरहेमा पक्कै सफलता हात पर्ने छ ।
केही योजना पूरा हुन नसक्नुमा समय व्यवस्थापन मिलेर नै हो । बढी समय दिने भनेको नजानेको र नबुझेको विषयलाई हो तर मैले त्यस कुरालाई बेवास्ता गरिरहेँ । मैले त्यति बेला समयको सदुपयोग गरी नजानेको विषयमा ध्यान दिएको भए पक्कै पनि मेरो नतिजा राम्रो आउँथ्यो ।
अवसर र चुनौतीलाई बुझेर समयको समुचित प्रयोग गर्ने छु । भएका गल्तीलाई सुधार्ने छु । दृढ अठोट राख्न सक्ने हो भने कुनै पनि योजना पूरा गर्न मजाले सकिन्छ तर त्यसका लागि मेहनत कडा नै गर्नु पर्छ ।