नागेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ २२ गते । नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले महोत्तरी जिल्लामा मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको ६ वटा क्लिनिक तथा अस्पताल तत्कालै बन्द हुने जनाएको छ ।
परिषदका अध्यक्ष डा.सुबाेध शर्माले गोरखापत्रसँग कुराकानी गर्नुहुँदै महोत्तरीको बर्दिबास तथा जलेश्वरमा गरिएको अनुगमनबाट तत्कालै ६ वटा क्लिनिक तथा अस्पताल बन्द गर्ने प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको जानकारी दिनुभयो ।
परिषदका अध्यक्ष शर्माको नेतृत्वमा अनुगमनमा रहनुभएका विशेषज्ञसहितको टोलीले जलेश्वर र बर्दिवासमा दुई दर्जन स्वास्थ्य संस्थाको निरीक्षण गर्दा गम्भीर लापरवाही र बिरामीको ज्यानसँग खेलवाड गरिरहेको पाइएकाले ६ वटालाई तत्कालै बन्द गर्न र अरुलाई सुधारका लागि भनेको हो ।
अनुगमनको क्रममा मापदण्डविपरीत देखिएको विश्वास डेन्टल जलेश्वर, झा प्याथोलोजी जलेश्वर, लव मेडिकल हलको एक्सरे सेवा, सिटी केयर हस्पिटल बर्दिबास, पञ्चधुरा डेन्टल क्लिनिक बर्दिबासलाई तत्कालै बन्द गर्नुपर्ने अवस्था देखिएको परिषद अध्यक्ष शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जलेश्वर र बर्दिबासका ६ वटा स्वास्थ्य संस्था मापदण्डविपरीत र बिरामीसँग दुर्घटना हुन सक्ने खालको देखिएकाले तत्कालै बन्द गर्न तथा अरुलाई सुधारका लागि समयसीमा दिएर कारबाहीका लागि प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई दिएर आएका छौं ।”
सरकारी अस्पतालमा मात्रै पाइने कीटहरू समेत बाहिरको प्याथोलोजीमा पाइएको तथा जाँचका लागि केही केमिकल नभए पनि हातैले ल्याव रिपोर्ट दिने गरेको, नपढेको र जनशक्ति नै नभएकाले पनि चेकजाँच गर्ने गरेको समस्याहरू अनुगमनको क्रममा देखिएको डा.शर्माले बताउनुभयो ।
उहाँले हामीले देशैभरि अनुगमन गर्ने र सोको सुरुवात मधेश प्रदेशको महोत्तरीबाट सुरु गरेको जानकारी दिनुहुँदै बिरामीसँग खेलवाड गर्ने स्वास्थ्य संस्थाहरुबारे उजुरी आए तत्कालै अनुगमन गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहे पनि मधेश प्रदेशका धेरै अस्पताल, क्लिनिक र प्रयोगशालाहरू नियम विपरीत सञ्चालनमा रहेको छ । केही महिना अघिसम्म मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समेत मधेश प्रदेशका आठवटै जिल्लाको स्वास्थ्य संस्थाहरूमा अनुगमन र नियम विपरितका स्वास्थ्य संस्थाहरूलाई बन्द गराउनुभएको थियो ।
मधेश प्रदेशमा रहेका केही संस्थाहरू बिना दर्ता सञ्चालनमा छन् भने कतै दक्ष जनशक्ति नै नरहेको तथा कतिपय ठाउँमा अन्यले नै चेकजाँच गरिरहेको भेटिएको छ । बर्दिबासको पञ्चधुरा डेन्टल क्लिनिक एक जना अवकाश प्राप्त नेपाली सेनाले सञ्चालन गरिरहेको अनुगमन टोलीले भेटेको थियो । जोसँग बिरामी जाँच गर्ने लाइसेन्स नै छैन ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद, ऐन २०५३ को दफा २० बमोजिम स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरुको अनुगमन परिषदले गरिरहेको छ । अनुगमनमा रेडियोग्राफी विज्ञ रुपेश शिलवाल, प्रयोगशाला विज्ञ राजन लाभ, नेत्र विज्ञान विज्ञ निरज देव जोशी, जनस्वास्थ्य विज्ञ तेजप्रसाद दुलाल, दन्त विज्ञान विज्ञ माइकल देवकोटा रहनुभएको छ । प्रतिवेदनमाथि कारबाहीको सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललाई सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।