• १३ असोज २०८१, आइतबार

ताप्लेजुङमा बाढीपहिरोले मोटरेवल पुलमा क्षति

blog

बाढीले क्षति पुर्‍याएको तावाखोलाको मोटरेवल पुल । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असार १ गते ।
ताप्लेजुङमा बाढीपहिरोले मोटरेवल पुल, घरलगायतका संरचनामा क्षति पुर्‍याएको छ । जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा बिहीबार राति गएको बाढीपहिरोले क्षति पुर्‍याएको हो ।

तीन दिनदेखि निरन्तर वर्षा भइरहेको र वर्षाका कारण गएको बाढीपहिरोले एक महिना अघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको तावाखोलाको मोटरेवल पुलमा क्षति पुर्‍याएको हो ।

सिरिजङ्घा गाउँपालिका –७ खेबाङ र सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिम जोड्ने मोटरेवल पुलमा बाढीले क्षति पुर्‍याएको हो । पुलको सुरुम्खिमतर्फको भागमा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको छ ।

सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले सिरिजङ्घा गाउँपालिकाको खेबाङ र वडा नं. ८ याम्फुदिनतर्फ सञ्चालन हुने यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिनुभयो । यसैगरी, सिरिजङ्घा गाउँपालिका–७ खेबाङकै केराबारीस्थित तावाखोलामा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

यस्तै, काबेली खोलामा आएको बाढीले सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा खोला किनार नजिक रहेको जगतबहादुर राईले सञ्चालन गर्नुभएको होटल (कटेज) बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार याम्फुदिनकै टीकाराम गुरुङको कुखुरा फार्म पनि काबेली खोलामा आएको बाढीले बगाएको छ । यसैगरी, सोही स्थानका सरस्वती घतानीको एउटा भैंसी बाढीले बगाएको छ भने तुम्मेवाखोला लघु जलविद्युत आयोजनाको विद्युत गृह पनि बाढीले बगाएको प्रनाउ लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार याम्फुदिनमै निर्माणधीन काबेली खोला जलविद्युत आयोजनाको क्रसरसमेत बाढीले बगाएको छ । प्रनाउ लिम्बूले निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही स्थानमा बस्तीनै जोखिममा परेको जानकारी दिनुभयो । उहाँका अनुसार जोखिममा परेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण हुन आग्रह गरिएको छ । त्यस्तै, बिहानैदेखि प्रहरी परिचालन गरी जोखिम वा अप्ठ्यारोमा परेकालाई उद्धारमा सहयोग गरिँदै आएको र क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।