• १ पुस २०८२, मङ्गलबार

प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन हुने खुल्यो बाटो

blog

लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, पुस १ गते ।
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन हुनेबाटो खुलेको छ । दुई वर्षदेखि रजिष्ट्रेशनका लागि लाग्ने एक करोडभन्दा बढीको लाभकर नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले छुट गरेपछि रजिष्ट्रेशनको बाटो खुलेको हो ।

२०३७ सालमा एक विगा पन्ध्र कठा दस धुर जग्गा दान गरेर र भवन अस्पतालका भवन निर्माण गरिदिएका लहानका लब्ड प्रतिष्ठित उद्योगपति रामकुमार शारडा र उमाप्रसाद मुरारका दाता बन्नुभएको थियो । दाता परिवारका पवनकुमार शारडा र मुरारीलाल मुरारकाका नाममा रहेका उक्त जग्गा रजिष्ट्रेशन नभएकाले मधेश प्रदेश सरकारलाई अस्पतालको भौतिक निर्माण तथा स्तरोननतिका लागि समस्या हुँदै आएका थियो । दाताद्वय शारडा र मुरारका परिवारका तर्फबाट मुरारीलाल मुरारकाले मालपोत कार्यालय लहानमा सबै कागजात पूरा गरेर राजस्व एक करोड ३४ लाख लाग्ने सुनाएपछि रजिष्ट्रेशन कार्य रोकिएको थियो ।

लाग्ने लाभकर मिनहाका लागि मधेश प्रदेश सरकारले सङ्घीय सरकार अर्थ मन्त्रालयमा सिफारिस गरेपछि सङ्घीय सरकारका मन्त्रिपरिषदबाट मिनहाका लागि निर्णय नहुँदा रजिष्ट्रेशन रोकिएको थियो । जेनजी आन्दोलनपछि गठित सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अस्पतालको जग्गा रजिष्ट्रेशन प्रक्रिया अघि बढाइने अस्पतालमै गएर गरेको प्रतिबद्धता गर्नुभएको थियो । सोही अनुसार गत मङ्सिर २९ गते बसेको मन्त्रिपरिषदको निर्णयले पूरा गरेपछि रजिष्ट्रेशनका लागि बाटो खुलेको अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो ।

यता  दाता परिवारको तर्फबाट मुरारीलाल मुरारकाले प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि मन्त्रिपरिषदले राजस्व मिनहाका लागि गरिएको निर्णयले खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई वर्षदेखि अडकेको कार्य वर्तमान सरकारो युवा तथा खेलकुद मन्त्रीको पहलमा सफलता मिलेको छ । अब जग्गा रजिष्ट्रेशन हुनेछ ।’’

अस्पतालको विकास समितिमा दाता परिवारको तर्फबाट दुई सदस्य मनोनीत हुनुपर्ने मागमा पनि मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस मागमा पनि साकारात्मक रहेकाले यस अस्पतालको स्तरोन्नतिका लागि दाता परिवारको तर्फबाट अझै लगानी लगाउन तयार रहेको उहाँले बताउनुभयो ।