- जेनजी आन्दोलनले सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्लगायत समाजका सबै पक्ष सँगसँगै अगाडि बढ्नु पर्छ भन्ने सन्देश दिएको छ ।
- जेनजीले राखेका माग हरेक घर घरका माग हुन् ।
- पुराना पार्टीको सोचाइ र कार्यशैली यथास्थितिवादी रहेकाले नयाँ पुस्ताले त्यसमा परिवर्तन चाहेका हुन् ।
- सक्षम युवा पार्टीभित्र गतिशील र सक्रिय भयो भने दलीय दृष्टिकोण नै परिवर्तन गर्न सक्छ ।
जेनजी आन्दोलनले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्याएको छ । समयसापेक्ष नागरिक आवाजको सुनुवाइ भएन भने त्यसले उग्र रूप लिन्छ भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको छ । यसैको परिणामस्वरूप फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनअघि पुस अन्तिम साता नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन, पार्टीको महाधिवेशन, नेतृत्वमा युवा र महिला सुनिश्चितलगायका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पार्टीको महिला विभाग प्रमुख पुष्पा भुसालसँग गोरखापत्रका लागि नारद गौतम र राधा चालिसेले गरेको कुराकानीको सम्पादित अंश :
जेनजी समूहले गरेको आन्दोलनलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ ?
जेनजी समूहले जे जस्तो माग राखेर आन्दोलन गरे ती माग जायज हुन् । उनीहरूले सुशासन, भ्रष्टाचारमुक्त समाज र नेपालको समृद्धि चाहेका हुन् । ती माग नवपुस्ताका नै हुन् । यद्यपि उनीहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा भएका अप्रिय घटनालाई छुट्टै तरिकाले विवेचना गर्न सकिन्छ । युवापुस्ताले नेपालमै बसेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन चाहेका हुन् । सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्लगायतलाई सँगसँगै लिएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश उनीहरूले दिएको हामीले महसुस गरेका छौँ ।
त्यो आन्दोलन केवल युवापुस्ताको असन्तुष्टि मात्र थियो कि परम्परागत राजनीतिक दललाई आत्मसमीक्षा गर्न बाध्य पार्ने चेतावनी पनि ?
भदौ २३ गते युवाले जे माग राखेर सडकमा प्रदर्शन गरे ती माग आफैँमा मननयोग्य छन् । ती एजेन्डा सडक र सदनबाट विगतमै उठ्नु पथ्र्यो । सदनमा उठेका पनि हुन् । नागरिक समाजले पनि घनीभूत ढङ्गबाट छलफल गरी खबरदारी गर्नु पथ्र्यो तर त्यसो हुन नसक्दा युवा स्वयम् खबरदारीका लागि शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भए । दुर्भाग्यवश प्रदर्शन भड्किएर त्यसले हिंसात्मक मोड लियो । जसका कारण व्यक्तिका घर, सम्पत्ति तोडफोड भए, जलेर नष्ट भए, लुटपाट मच्याइयो । उद्योगधन्दा, सार्वजनिक र राष्ट्रिय धरोहरमा आगो लगाइयो । महत्वपूर्ण दस्ताबेज नष्ट भए ।
त्यो घटनाले सकारात्मक सन्देश पनि दिएको छ । सरकार र राजनीतिक दललाई समयमै सजग र सचेत हुनुपर्ने सन्देश मात्र प्रवाह भएको छैन, जनताका उचित माग समयमै सम्बोधन गर्नुपर्ने दबाब पनि दिएको छ । सरकारी संयन्त्रले पनि जनताका काममा ढिलासुस्ती होइन, चुस्तदुरुस्त समयमै गर्नुपर्ने सन्देश पनि दिएको छ ।

युवाले राखेका माग राजनीतिक दलले कसरी सम्बोधन गर्लान् ?
युवापुस्ताले अगाडि सारेका माग जायज छन् । ती माग हरेक घर घरबाट उठेका माग र सपना हुन् । ती माग सम्बोधन नगरी अगाडि बढ्ने कल्पना कुनै पनि राजनीतिक दलले गर्न सक्दैनन् । नेपालको परिवेशमा करिब ४२ प्रतिशत जनसङ्ख्या युवाको छ । यति धेरै जनसङ्ख्याको मागलाई दलहरूले आफ्नो विचार र व्यवहारबाट सम्बोधन गर्न जरुरी छ । त्यसका लागि सरकार र दलहरू झन् बढी जिम्मेवार र गम्भीर बन्नु जरुरी छ । दलहरूले युवाका मागलाई आफ्ना घोषणापत्रमा लिपिबद्ध गरेर जनताका माझमा पुर्याएर उनीहरूबाट अनुमोदन गराएपछि मात्र त्यसलाई कार्यान्वयनमा लैजान सक्छन् । प्रजातन्त्रमा दलहरूले यसलाई महत्वपूर्ण अवसरका रूपमा लिनु पर्छ ।
राणाशासनदेखि लोकतन्त्र प्राप्तिसम्म निर्णायक भूमिका निर्वाह गर्दै आएका दलप्रति किन यति धेरै असन्तुष्टि बढेको होला ?
हरेक परिवर्तनको नेतृत्व लिएका पुराना दलले नेपाललाई यहाँसम्म ल्याइपु¥याएका छन् । देशभित्र भौतिक एवं सामाजिक विकास हुँदै नभएका पनि होइनन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार जलविद्युत्, दूरसञ्चारका क्षेत्रमा महìवपूर्ण उपलब्ध हासिल भएका छन् । यद्यपि जनचाहना अनुसारको गतिमा हुन नसकेकै हो ।
नेपालले अङ्गीकार गर्दै आएको राजनीतिक प्रणाली, समानुपातिक समावेशिता कार्यान्वयनका विषयमा विश्वका कतिपय देशभन्दा हामी अगाडि छाैँ । १० बर्से सशस्त्र युद्धलाई शान्तिमा रूपान्तरण गर्न सकेको सफलताले विश्वमा उदाहरण बनेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने मामलामा, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न मुलुकका रूपमा उभ्याउन हामी सक्षम प्रमाणित भएका हौँ । सन्धि र अभिसन्धिलाई अनुमोदन गरेर त्यसलाई कार्यान्वयनमा लैजाने विषयमा अन्य देशको तुलनामा नेपाल अगाडि नै छ । ती सबै काम त पुराना दलले गरेका हुन् नि ! यद्यपि, पुराना पार्टीको सोचाइ र कार्यशैली यथास्थितिवादी नै रहेकाले नयाँ पुस्ताले त्यसमा परिवर्तन चाहेका हुन् ।
युवापुस्ताले चाहेको खोजेको जस्तो यथास्थितिवादको अन्त्य कसरी गर्न सकिएला त ?
राजनीतिक दलहरू यथास्थितिवादबाट माथि उठ्नुको विकल्प छैन । राजनीतिक दलभित्रै बढीभन्दा बढी लोकतान्त्रिक अभ्यास र आचरण प्रस्तुत हुनु पर्छ । पछिल्लो समय दलहरूमा पुराना र नयाँ पुस्ताको समीकरण हुन थाल्नु सकारात्मक हो । नयाँ संविधान प्राप्ति भने धेरै ठुलो उपलब्धि हो । संविधानले नै जनतामा धेरैभन्दा धेरै अपेक्षा सिर्जना गरिदिएको हो । ती अपेक्षा पूरा गर्न मुलुकले जुन ढङ्गबाट काम गर्नुपर्ने थियो, तदनुकूल हुन सकेन ।
देशमा स्थिर सरकार बन्न नसक्दा महिला, युवा, मधेशी, पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका वर्ग वा समुदायले संविधानका उपलब्धिलाई महसुस गर्न नसक्दा पनि समाजमा असन्तुष्टि बढेर गयो । राज्यले बनाउने नीति, नियम र बजेटमार्फत यस्ता वर्गलाई सम्बोधन गर्न जरुरी छ । सधैँ अस्थिर सरकार भइरहँदा सरकार चलाउनेहरू आफूलाई टिकाउन गणितीय हिसाबमा मात्रै लागिरहे । समृद्धिका लागि दिनुपर्ने समय सत्ता जोगाउनमै खेर गयो । अब संविधान संशोधन गरेर भए पनि स्थिर सरकार बनाउने बाटोमा जानु पर्छ ।
नेपालको संविधान उत्कृष्ट हो भनिरहँदा पनि सोही संविधानका आधारमा नै बन्ने सरकारले पनि जनचाहना र अपेक्षा पूरा गर्न सकिरहेको छैन । संविधान नै संशोधन वा परिमार्जनका माग उठिरहेका छन् नि ?
हो, हामीले संविधान उत्कृष्ट बनाएका हौँ । संविधानले विभिन्न गैरराजनीतिक संरचना तयार गरेको छ । ती संरचनाले पनि आआफ्नो भूमिका निर्वाह गरे/गरेनन् भनेर ध्यान दिनु पर्छ । ती संरचनाले लोकतन्त्र बलियो बनाउन केकस्ता भूमिका निर्वाह गरे/गरेनन् समीक्षा गर्ने बेला भएको छ । गैरराजनीतिक संरचनाले सरकार र दलहरूलाई खबरदारी गरे/गरेनन् भनेर पनि हेरिनु पर्छ । पुराना दलबाट युवाका अपेक्षा पूरा नभएका कारण असन्तुष्टि व्यक्त भइरहेको हो । अब दलहरूले आफूहरूलाई परिवर्तन गर्न जरुरी छ । आन्तरिक प्रतिस्पर्धामार्फत दललाई बढीभन्दा बढी लोकतान्त्रिक अभ्यासमा लैजानु जरुरी छ । दलहरूले नवयुवालाई पनि राजनीतिमा आकर्षित गर्ने रणनीति अङ्गीकार गर्न जरुरी छ । सरकार र अब बन्ने नयाँ संसद्ले युवाले खोजे जस्तो नीति बनाएर अगाडि बढ्नु पर्छ । संविधानमै पनि युवाका आशा र भरोसाका विषय समावेश गर्नु जरुरी छ ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनपछि संसद् पनि बन्ला । नयाँ संसद्ले शासन सञ्चालन पद्धतिमा पनि अभूतपूर्व परिवर्तनको अनुभूति दिलाउला ?
निर्वाचन समयमै हुनु पर्छ भन्ने हाम्रो मान्यता छ । संविधानले प्राप्त गरेका उपलब्धि र संविधानलाई सही बाटोमा हिँडाउन पनि त्यो जरुरी देखियो । आगामी निर्वाचनले नै संसद् र सरकारलाई पुनः ब्युँताउने छ भन्ने हाम्रो विश्वास छ ।
अहिले हुने निर्वाचन संविधानका आधारमा गरिने मिश्रित निर्वाचन प्रणाली हो । जनता र दलहरूले चाहे जस्तो कुनै एक दलले मात्र बहुमत प्राप्त गरेर निर्धक्कसँग पाँच वर्षका लागि देश हाँक्न सक्ने अवस्था बन्न कठिन छ । अबको निर्वाचनपछिको संसद्ले संविधान संशोधन गरेर भए पनि मुलुकलाई स्थिर सरकार बनाउनेतर्फ लैजानु पर्छ । संविधानमा भएका व्यवस्थालाई दुरुपयोग हुनबाट जोगाउन जरुरी छ ।
जेनजी आन्दोलन र निर्वाचनको घोषणापछि केही दल र स्थापित नेतृत्व नयाँ समीकरणमा लागेका छन् भने केहीलाई महाधिवेशनको चटारो छ । नेपाली कांग्रेसको पनि पुसको अन्त्यमा महाधिवेशन हुँदै छ । कांग्रेसले महाधिवेशनपछि पार्टीलाई सुदृढ र गतिशील बनाउन सक्ला ?
बनाउनु पर्छ । जनताले पनि यही चाहेका छन् । हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि पारदर्शी रूपमा निर्वाचित भएर आउँछन् । महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधि चयन गर्ने हो । सबै तहका कार्यकर्तामा राजनीतिक चेतना बढेको पाइएको छ । पार्टीभित्रै पनि नयाँँ पुस्ताले नेतृत्व गर्ने आकाङ्क्षा देखाइरहेका छन् । भूमिका खोजिरहेका छन् । महाधिवेशन प्रतिनिधिले स्वविवेक प्रयोग गरेर दूरदृष्टि भएको र पार्टीलाई सही नेतृत्व दिन सक्ने, समावेशी–समानुपातिक र लोकतात्रिक शासनव्यवस्थालाई सुदृढ गर्न सक्ने व्यक्ति चयन गर्ने छ । जनभावना अनुसार देशलाई गति दिन सक्ने नेतृत्व चयन हुने छ भन्ने पूर्ण विश्वास छ । सही नेतृत्व चयन भयो भने पार्टी गतिशील हुन्छ ।
भ्रष्टाचारमुक्त समाज, पारदर्शिता, सहभागिता र जवाफदेहिताको जेनजी मागलाई कांग्रेसले सङ्गठन, शासन र अभ्यासमा कसरी उतार्ला ?
यी विषयमा कांग्रेस प्रमाणित भइसकेको छ । सर्वप्रथम भ्रष्टाचारमुक्त समाजको परिकल्पना कांग्रेसले गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कांग्रेसकै नेतृत्वमा भएको सरकारका पालामा बनेको हो । भ्रष्टाचारमुक्त समाज बनाउन तदनुकूलका कानुन आवश्यक पर्छ, त्यस्ता कानुन निर्माण गर्ने संयन्त्रको नेतृत्व पनि कांग्रेसले नै गर्दै आएको छ । कांग्रेसले घोषणापत्रमा मात्र सुशासनका कुरा गरेको होइन, व्यवहारतः नै लागु गर्दै आएको छ । २०१५ सालमा बिपी कोइराला नेतृत्वको सरकारले जसरी पार्टीलाई सुशासनका पक्षमा खबरदारी गर्न निर्देशन दिने गथ्र्यो, अब पनि त्यस्तै निगरानी र खबरदारी गर्न सक्षम पार्टी नेतृत्वको विकास हुन जरुरी छ । लोकतन्त्रको आत्मा निर्वाचन मात्रै होइन, समृद्धि र विकास पनि सँगसँगै जोडिएको हुन्छ । त्यसलाई परिणाममा पु¥याउन सक्ने नेतृत्व चयन गर्नु पर्छ ।
नेतृत्वको कुरा गरिरहँदा कांग्रेसको उच्च नेतृत्वमा युवा वा महिलालाई पु¥याउने सन्दर्भलाई यहाँले कसरी विश्लेषण गरिरहनुभएको छ ?
कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको २०१५ सालको निर्वाचनपछि द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएको इतिहास छ । कांग्रेसले उपप्रधानमन्त्री र उपसभामुखमा महिला नेतृत्वलाई पुर्याएको छ । मन्त्री बनाएको छ । महिलालाई निर्णायक भूमिकामा पुर्याउन पार्टीभित्र निरन्तर सङ्घर्ष गरिरहनु परेको छ । कांग्रेसकै नेतृत्वमा बनेर जारी भएको संविधानमा समानुपातिक र समावेशिताको सुनिश्चित हुनु पर्छ भनिएको छ । त्यस अनुसारको प्रतिनिधित्वलाई कार्यशैलीमा पनि अपनाउनु पर्छ । पार्टी र सरकारको निर्णायक तहमा एक तिहाइ महिला पुग्नु जरुरी छ । पार्टीभित्रबाट यो कुरा उठाउनु जरुरी थियो । पार्टीको विधानले त्यसलाई सुनिश्चित गर्नु पर्छ । हामी व्यवहारतः अधिकार सुनिश्चित गराउन अब हुने महाधिवेशनमा डटेर लाग्ने छौँ ।

सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने छ, के त्यो सम्भव होला ?
यो महत्वपूर्ण चुनौती हो । अहिलेको मिश्रित निर्वाचित प्रणालीकै कारण संसद्मा ३३ प्रतिशत महिला पुग्नु सकेका छन् । सधैँ यही प्रणाली कायम रहन्छ भन्ने छैन । नेपालले दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्ममा ४० प्रतिशत महिला संसद्मा पुर्याउन भनेको छ । त्यसका लागि संसारका विभिन्न देशले अपनाए जस्तो महिला निर्वाचन क्षेत्र घोषणा गर्न आवश्यक छ ।
भारतमा पनि महिला निर्वाचन क्षेत्रको माग हुन थालेको छ । कानुन बनिरहेका छन् । हामीले पनि त्यो पद्धतिलाई अपनाउन सक्छौँ । समानुपातिकबाट राष्ट्रिय सभामा महिलालाई लैजाने हो भने प्रतिनिधि सभाका लागि महिला निर्वाचन क्षेत्र सुनिश्चित गर्नेतर्फ सोच्ने समय आएको छ । त्यसका लागि इच्छाशक्तिको खाँचो छ ।
पार्टीभित्र युवाको प्रतिनिधित्व कसरी बढाउने ?
पार्टीको तल्लो तहदेखि नै युवा सहभागिता र सक्रियता बढाउन जरुरी छ । अहिलेका युवा प्रविधिमा दक्ष मात्रै छैनन् ज्ञान, चेतना र दृष्टिकोणले युक्त पनि छन् । त्यस्ता युवाले पार्टीमा आफ्नो भूमिका बढाउनुपर्यो । एउटा सक्षम युवा पार्टीभित्र गतिशील र सक्रिय भयो भने दलीय दृष्टिकोण नै परिवर्तन गर्न सक्छ । ‘भिजन र मिसन’ का साथ दलमा प्रवेश गराएर देशलाई नयाँ गति दिन सक्छन् । युवाले अरूबाट खोज्नेभन्दा पनि म दिन सक्छु भनेर अगाडि बढ्नु जरुरी छ । पार्टीहरूले पनि युवालाई आकर्षित र अभिप्रेरित गर्ने किसिमका गतिविधि सञ्चालन गर्नु आवश्यक छ । कांग्रेसले पनि नयाँ सदस्यमा युवाको सहभागिता बढाउने अधिकतम प्रयास गरिरहेको छ । कांग्रेसमा युवाको भविष्य सुन्दर छ ।
महिला र युवालाई कार्यकर्ता मात्र होइन, निर्णायक तहसम्म पुर्याउन पार्टीभित्रका संरचनामा केकस्तो सुधार गर्नुपर्ने देख्नुहुन्छ ?
हो, महिला र युवालाई अहिलेसम्म ‘क्याम्पेनर’ का रूपमा मात्र हेरिँदै आएको छ । कुनै आन्दोलन, पार्टी अधिवेशनदेखि स्थानीय तहको निर्वाचन वा राष्ट्रिय निर्वाचनमा महिला र युवालाई क्याम्पेनरका रूपमा मात्र हेरिन्छ । अब युवा र महिलालाई नेतृत्व तहमा पुर्याउन र पार्टीका सबै संरचनामा स्थान दिन विधानमै संशोधन आवश्यक छ । त्यसपछि मात्र महिला र युवालाई वडादेखि केन्द्रसम्म निर्णय गर्ने ठाउँमा पुर्याउन सक्छौँ ।
अबको संसदीय निर्वाचन र पार्टीको महाधिवेशनबाट यहाँ कुन पदमा पुग्न इच्छुक हुनुहुन्छ । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा भिड्ने हो कि समानुपातिकमा बस्ने इच्छा हो ?
प्रतिनिधि सभामा म चार पटक नै प्रतिस्पर्धा गरिसकेको व्यक्ति हुँ । अहिले नयाँ पुस्ताले हाम्रो पालो कहिले भनेर खोजिरहेका छ । त्यो स्वाभाविक पनि हो । जहाँ मेरो आवश्यकता महसुस हुन्छ, त्यहीँबाट नाम सिफारिस गरिदिन आग्रह गरेको छु । प्रत्यक्ष निर्वाचन मेरा लागि सुनौलो अवसर पनि हो । म कुनै हिचकिचावट त्यसमा सहभागी हुन्छु ।
पार्टीमा तीन पटक सम्मानजनक मतसहित केन्द्रीय समितिमा निर्वाचित भएर आएको हुँ । हामी अब पदाधिकारीमा जानु पर्छ भनेर वकालत गरिरहेका छौँ । अब केन्द्रीय समितिमा अरू साथीहरूलाई पुर्याउन पनि हामीले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने समय आएको छ । विधान संशोधन गरेर पदाधिकारीमा एक तिहाइ महिलाको सहभागिता सुनिश्चित गराउन जरुरी छ ।
हामीले छुटाएका र तपाईंले भन्न चाहेको केही छ र ?
आगामी फागुन २१ गते निर्वाचन हुँदै छ । आठ/नौ लाख नयाँ मतदाता थपिएका छन् । लोकतन्त्र बलियो बनाउनु हामी सबैको पहिलो दायित्व हो । विकास र समृद्धि हासिल गर्न बढीभन्दा बढी युवाले राजनीतिमा चासो दिने मात्र होइन, प्रत्यक्ष सहभागी नै भएर सकारात्मक भूमिका निर्वाह गर्नु पर्छ । युवा र महिलाका लागि यो निर्वाचन महत्वपूर्ण अवसर हो । पार्टी पनि रूपान्तरण हुनु पर्छ । त्यसका लागि ४२ प्रतिशत युवा र ५१ प्रतिशत जनसङ्ख्या भएका महिलाको सङ्ख्यात्मक र गुणात्मक सहभागिता राजनीतिक दलमा हुनु पर्छ ।
तस्बिर/भिडियो : मनोजरत्न शाही / केशव गुरुङ