• १ पुस २०८२, मङ्गलबार

राजपुर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन

blog

नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारहोमा उपस्थित राजपुर नगरपालिकाकाका नगर प्रमुख डाक्टर राजिक आलम लगायतका अतिथि । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), पुस १ गते । रौतहटको राजपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सोमबार नगर प्रमुख डा. राजिक आलमले उद्घाटन गर्नुभयाे । नगर प्रमुख डा. आलमले स्थानीय तहको संरचना कायम भएको ८ वर्षपछि स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो । 

नगर प्रमुख डा. आलमले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगदान रहने भएकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवाग्राहीलाई  लाभ मिल्ने बताउनुभयो । अझै पनि कतिपय पालिकाको प्रशासनिक भवन नरहेको बताउनुहुँदै आफू नगर प्रमुख भएको तीन वर्षमा यस पालिकाका ५४ हजार जनताको सहयोगमा  पालिकाले आफ्नै प्रशासनिक भवन पाएको बताउनुभयो ।

तीन वर्षको अवधिमा नगर अस्पताल, कृषि भवन, प्रशासनिक भवन, गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत बम नहरको बाटो भएर नगरपालिका सम्म पुग्ने बाटो लगायतका कार्यमा नगरपालिकाले फडको मारेको बताउनुहुँदै उहाँले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सकारात्मक परिवर्तनका लागि आफू कुनै कसर बाँकी नराखेको बताउनुभयो। 

उद्घाटन समारोहमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले राजपुर नगरपालिकाले भौतिक पूर्वाधारमा फडको मारेको बताउनु हुँदै शिक्षित जनप्रतिनिधि भएपछि समाजको  समुन्नत विकासमा सहयोग पुग्ने यो एउटा उदाहरण रहेको बताउनुभयो । 

नगरपालिकाको वडा ४ मा पाँच करोड बहत्तर लाख तीस हजार आठ सय पैतीस रुपियाँको लागतमा  साह निर्माण सेवाले प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । 

तीनतले प्रशासनिक भवनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्षसहित सुविधा सम्पन्न हल, कार्यपालिकाको लागि छुट्टै हल, न्यायिक समितिको इजलास र अन्य विभिन्न शाखा प्रशाखाहरू रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिनुभयो । 

सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत साझेदारीमा निर्माण सम्पन्न प्रशासकीय भवनका लागि सङ्घीय सरकारले २ करोड ८५ लाख उपलब्ध गराएको थियो  ।