• १ पुस २०८२, मङ्गलबार

धानको समर्थन मूल्य नपाएपछि किसानले अझै गरेनन दाउनी

blog

हरिप्रसाद कोइराला 
उर्लाबारी, पुस १ गते ।
गत वर्षको मङ्सिर दोस्रो साता किसानले प्रति क्विन्टल तीन हजार सात सय पचास रुपियाँमा बिक्री गरेको मध्यम जातको धान यो वर्ष कम उत्पादन हुँदा पनि तीन हजार २५० भन्दा बिक्री भएको छैन ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि तोकेको न्यूनतम समर्थन मूल्य मोटा धानको तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा रहेको छ । तर सरकारले तोकेको न्यूनतम मूल्य पनि व्यापारीले नदिएपछि किसानले खेतका गरागरामा धान कुन्यु लगाएर राखेका छन् । सरकारले यो वर्ष धानको उत्पादन कम हुने प्रक्षपेण गरेको थियो । कम उत्पादन भएपछि मूल्य बढ्नेमा किसान ढुक्क थिए । तर न उत्पादन बढ्यो न मूल्य बढ्यो ।

मोरङको रतुवामाई, सुनवर्षी, रङ्गेली नगरपालिका र कानेपोखरी, धनपालथाल, जहदा गाउँपालिका सघन रुपमा धान खेती हुने क्षेत्र हुन । यि क्षेत्रमा हाल ३० देखि ३५ प्रतिशत किसानले अझै धान दाउनी गरेका छैनन् । उर्लाबारी–३ स्थित बालाजी लघु उद्योगका सञ्चालक विशाल बाहेतीले भन्नुभयो, ‘‘जुन धानमा समस्या थियो त्यो धान मात्र थ्रेसिङ भएको छ । हाम्रो अनुमानमा ४० प्रतिशत किसानको धान कुन्यु मै छ । उहाँहरूको धान बिग्रेको छैन । जति समय राख्दा पनि नबिग्रिने भएपछि किन हतारमा दाउनी गर्नु ? बाहेतीले कात्तिकमा परेको पानीले लडाएको, हकुवा हुने र पोगटा धेरै धेरै भएको धान मात्र बजारमा आएको छ ।’’

कानेपोखरी ४ को रमेश टे«डर्सका सञ्चालक सीताराम खतिवडाका अनुसार अधिकांश ब्यापारीसँग गत वर्षको धान मौज्दात छ । गत वर्ष चार हजार रुपियाँ क्विन्टर किनेको धान अझै गोदाम मै थन्किएको छ । मूल्य बढ्ला बेचौंलाभन्दा भन्दै १३ महिना बित्यो । सरकारले शुन्य भन्सार दरमा धानको आयात खुला गर्ने र चोरी बाटोबाट  आउन बन्द नगर्ने हो भने नेपालका किसानले धान नरोपे पनि हुने उहाँको भनाइ छ । खतिवडाले थप्नुभयो, ‘‘ठुला चामल उद्योगले नेपाली धानलाई भन्दा भारतीय धानलाई प्राथमिकतामा राखेर यो समस्या भएको हो । भारतमा सरकारले किसानलाई दिएको अनुदानका कारण धान सस्तो मूल्यमा पाइन्छ ।’’

यता किसानले भने खेतमा रवि बालि नलगाईकन धानका कुन्यु राखेका छन् । मोरङ कानेपोखरी–३ दशनु राजवंशीले भन्नुभयो, ‘‘एक हजार ३ सय रुपियाँ मनमा धान दिन सकिन्न । लगानी नै उठ्दैन, एक नम्बर धान छ । खेतमा बिग्रिदैन, माघ तिर दाउनी गर्छु ।’’

उहाँ प्रतिनिधि पात्र मात्र हो । अधिकांश किसान लागत खर्च नै नउठ्ने भएपछि धानको मुल्य कुरेर बसेका छन् ।  

सरकारले आव २०८२/८३ का लागि धानको न्यूनतम 
समर्थन मूल्य तोकेको छ ।
१) मोटा धानको ३४६३.८१ रुपियाँ प्रति क्विन्टल 
२)मध्यम धानको ३६२८.३३ रपियाँ प्रति क्विन्टल