• १३ साउन २०८१, आइतबार

नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

blog

काठमाडौं, जेठ ३१ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा पुगेको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीले पश्चिमी वायु र भारतको विहारमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि उपत्यका सहित देशका पहाडी भूभागमा वर्षा भएको जानकारी दिनुभयो ।

यसैगरी, बुधबार मधेश प्रदेशको पूर्वी तराईको तापक्रम केही घटे पनि पश्चिम तराईको भने केही दिन तापक्रम घट्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ ।