• १३ साउन २०८१, आइतबार

धनकुटामा रोजगार मेला हुने

blog

कविराज घिमिरे

हिले, जेठ ३१ गते । धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो । 

नगरपालिकाले पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग, व्यवसाय, बैङ्क तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसाय लगायत १५ प्रदर्शनी कक्ष रहने छन् । 

मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी प्रदान गरिने, सीपमूलक तालिम दिने संस्थाहरूको बारेमा जानकारी गराइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिम सम्बन्धी जानकारी दिइने, बेरोजगार व्यक्ति र रोजगारदाताहरूको तथ्याङ्क अद्यावधिक गरिने, स्थानीय उत्पादनहरू प्रदर्शनी गरिने र स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिने धनकुटा नगर प्रमुख तामाङले बताउनुभयो ।