• १३ साउन २०८१, आइतबार

सेयर बजारमा उच्च सुधार

blog

काठमाडौँ, जेठ २९ गते । लगातार सुधारिएको सेयर बजार दुई हजारको बिन्दुनजिक पुगेको छ । साताको पहिलो दिन आइतबार ४० अङ्कले सुधारिएको सेयर बजारमा कारोबार रकम पनि साढे तीन अर्बनजिक पुगेको छ । 

गत सोमबारदेखि लगातार सुधारिएको बजार चौथो दिन पनि उकालो लागेको हो । आइतबार सेयर बजारमापक नेप्से परिसूचक ४०.४८ अङ्कले उकालो लागेर एक हजार ९८०.०.९ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.१० अङ्कले उकालो लागेर ३७०.५२ को बिन्दुमा पुगेर रोकिएको छ । 

समग्रमा पहिलो दिनको नेप्से २.०९ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.६७ प्रतिशतले उकालो लागेको छ । आइतबार दिनभर २७५ कम्पनीको ९५ लाख २८ हजार २२५ कित्ता सेयर ६१ हजार ४५० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत चार महिनायताकै उच्च हो । 

यसअघि गत वर्षको माघ ११ गते नेप्सेमा तीन अर्ब ४६ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।