• १३ असोज २०८१, आइतबार

अनलाइनमार्फत राजश्व सङ्कलन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २८ गते । अनलाइनमार्फत राजश्व सङ्कलन गर्न वडा सचिवहरूलाई अभिमुखीकरण तालिम दिइएको छ । सुनकोशी गाउँपालिकाले दश वटै वडाको राजश्व अनलाइन (सूत्र) मार्फत सङ्कलन गर्न वडा सचिवहरूलाई तालिम दिएको हो । 

वडा कार्यालयमार्फत सङ्कलन हुँदैआएको राजश्वहरू अब सिधै अनलाइनमार्फत सङ्कलन गरिने व्यवस्था गरिएको लेखा प्रमुख सुवास धमलाले बताउनुभयो । यसअघि रसिद काटेर राजश्व उठाउने चलन थियो अब अनलाइन (सूत्र) मार्फत सोझै वडाहरूको राजश्व सङ्कलन गरिने धमलाको भनाइ छ । 

तालिममा अनलाइन सूत्र चलाउने र राजश्व दाखिला गर्ने विधि वडा सचिवलाई सिकाइएको लेखा प्रमुख धमलाले जानकारी दिनुभयो । आर्थिक ऐनमा उल्लेख भएका शीर्षकहरूमा अनिवार्य वडा कार्यालयहरूले राजश्व उठाउन लेखा प्रमुख धमलाले सुझाव दिनुभयो ।  यसका साथै वडा सचिवलाई योजना छनौट विधि र वडाबाट गरिने सिफारिसलगायतका विषयमा अभिमुखीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनुभयो । 

गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै कम रहेकाले वृद्धि गर्न राजश्व सङ्कलन कार्यलाई कडाइकासाथ लागु गर्न आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत कार्कीको भनाइ छ । अहिले वार्षिक करिब २० देखि २५ लाखको हाराहारीमा मात्र आन्तरिक राजश्व सङ्कलन हुने गरेको कार्कीले जानकारी दिनुभयो । 

आन्तरिक स्रोत पर्याप्त नहुँदा प्रभावकारी काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो । तालिमको उद्घाटनसत्रमा गाउँपालिका अध्यक्ष कमल तामाङले वडा कार्यालयमार्फत राजश्व सङ्कलन र सिफारिस गर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।