• १३ साउन २०८१, आइतबार

नूर–गङ्गा प्रतिभा पुरस्कार घोषणा

blog

काठमाडौँ, जेठ २७ गते । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले सम्पन्न भएको छ। सभाले यस वर्षको नूर–गङ्गा प्रतिभा पुरस्कारको निर्णय पनि गरेको छ। हालै काठमाडौँमा आयोजित कार्यक्रममा गुठीले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार’ साहित्यकारहरू गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।

सभाले ‘नूर–गङ्गा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार’ लोकगायक पुष्कल शर्मा (पाल्पा) लाई ३० हजार नगद राशिसहित प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार’ २५ हजार नगद राशिसहित रामकुमार नेपाली (रामेछाप) लाई प्रदान गर्ने निर्णय गरेको छ।

गुठीले ‘नूर–गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ नगद राशि २० हजारसहित आयुष्मा तिवारी (नवलपरासी) लाई प्रदान गर्ने निर्णय गरेको छ। 

गुठीको साधारण सभाले प्रतिभा पुरस्कारका निर्णयहरू अनुमोदन गर्दै संस्थाको प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा गुठीका संरक्षक अमीरप्रताप जबराले संस्थाले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताउँदै संस्थालाई अझ बृहत्तर रूपमा लैजाने प्रतिबद्धता जनाउनुभयो । गुठीका अध्यक्ष प्राडा गोविन्द नेपालले संस्थाको क्रियाशीलताको चर्चा गर्दै गुठीको अक्षयकोषमा रकम वृद्धि गरिएको जानकारी गराउनुभयो। कार्यक्रममा प्राडा चूडामणि बन्धु, यज्ञप्रसाद शर्मा, प्राडा ध्रुवकुमार घिमिरे, यादव भट्टराई, नारायण रायमाझी, प्राडा भवेश्वर पङ्गेनी, प्राडा सावित्री मल्ल कक्षपति, सन्ध्या पहाडीले आआफ्नो मन्तव्य राख्नुभएको थियो। घोषणा गरिएका पुरस्कारहरू आउँदो असार १५ गते प्रदान गरिने गुठीले जानकारी गराएको छ।