• १३ साउन २०८१, आइतबार

परम्परागत पौभामा समूहगत छलफल

blog

काठमाडौँ, जेठ २६ गते । पौभा वा थाङ्का कलाको अध्ययन अध्यापन गर्नु जरुरी रहेको यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । ‘परम्परागत पौभा वा थाङ्का कलामा युवा’ को भूमिका विषयमा समूहगत छलफलमा विज्ञहरूले यस्तो जोड दिनुभएको हो । 

 कार्यक्रममा सुजनमुनि शाक्यले पौभा वा थाङ्का कलालाई लोप हुनबाट जोगाउन प्राज्ञिक स्तरबाट नै पौभा वा थाङ्का कला सिक्न जरुरी रहेको बताउनुभयो । प्राज्ञिक रूपले अध्ययन गर्दा अभिलेखनका साथै व्यवस्थापन गर्नमा सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो कलाको इतिहास, दर्शन र महत्वका साथै आधुनिक अवस्थाको बारेमा जानकारी गराउन जरुरी छ ।”

 यसै गरी मिङमा लामाले यो कलाको अध्ययनको कमी रहेको, यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा सैद्धान्तिक ज्ञानको कमी रहेको टिप्पणी गर्दै यसको विषयमा सचेतना बढाउन सकेमा युवाको आकर्षण बढ्ने र स्वरोजगारको अवसर सिर्जना हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा रजनी सिङ्ख्वालले विद्यार्थी भएर अध्ययन गर्दा तीन, चार वर्ष समय लाग्ने र कलेज सकेपछि कलाको बजारमा आफूलाई चिनाउन, क्षमता देखाउन अलि गाह्रो हुने अनुभव सुनाउनुभयो । यस क्षेत्रमा लागेका र अध्ययन गरेका विद्यार्थीलाई आवासीय कार्यक्रम कार्यशालाहरू सञ्चालन हुनुपर्ने उहाँको सुझाव रहेको थियो । 

बुद्ध योञ्जनले थाङ्काको खेवा लेख्ने कलाकारको कमी रहेको र पहिला ३५ हजार कलाकारको तथ्याङ्क सङ्कलन भए पनि अहिलेका १५ हजार पनि नभएको गुनासो गर्नुभयो । उहाँले कलाको पुस्ता हस्तान्तरण गर्नुपर्ने र नयाँ पुस्तामा यसको महत्व बुझाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ मो लामाले यस्तो कार्यक्रम नीतिगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।