• ८ मंसिर २०८१, शनिबार

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढ्यो : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

काठमाडौं, जेठ २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बरबादीको सिकार भइरहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढङ्गले गर्नुपर्छ । यस भित्रका विकृतिहरू हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरु ठिक ढङ्गले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन् ।,’’ सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘मोबाइल प्रयोग कसरी ठिक ढङ्गले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढङ्गले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरु आज बरबादीको सिकार भइरहेका छन् । सुसाइडको अवस्थामा पुग्नुपर्ने अवस्था भएको छ । यस्ता खालका प्राविधिक सहयोगसँगै हामीले प्रयोग गर्ने मान्छेले नियम, कानुन त्यहाँ के गर्ने, के नगर्ने ? भन्ने शिक्षा छैन ।’’

उहाँले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरू भड्किरहेको बताउनु भयो । उहाँले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताउनुभयो । उहाँले डिजिटल शिक्षालाई जनस्तरमा पुर्‍याउन सके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘कस्ता साइट कुन उमेर समूहकाले हेर्ने भन्ने कुराको व्यापक शिक्षा हामीसँग छैन । यो सबै कुरा थाहा नपाउँदा यसबाट आउने विकृति लगायतका कुराबाट हाम्रो युवापुस्ता भड्किएको छ । यसको सही सदुपयोग गर्न र हाम्रो युवा पुस्तादेखि सबै हामी गलत प्रवृत्तिको सिकार नबनौँ भनेर राज्यको जिम्मेवारीमा हामी छौँ । यसमा नीति बनाउने बेलामा ढिलो भइसकेको छ, हामीसँग साइबर सुरक्षा नीति छैन । यसको अन्तिम तयारीमा हामी छौँ  । डिजिटल शिक्षालाई व्यापक रूपमा लैजान सकेका छैनौँ । मोबाइलको विकाससँगै त्यो शिक्षालाई पनि अघि बढाउनु पर्छ ।’’

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।