• २१ वैशाख २०८१, शुक्रबार

हुम्लामा लम्पी स्किन रोगबाट ९६१ पशु मरे

blog

लम्पी स्किनबाट मरेको पशुलाई खाल्डोमा पुरिँदै । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, जेठ २५ गते । पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९६१ पशु मरेको पाइएको छ । बिरामी पशुमा उच्च ज्वरो आउने, छालामा साह्रो गिर्खा देखिने, गिर्खा बिस्तारै टाउको घाँटी हुँदै शरीरभरि फैलिएपछि पशुहरू मर्दै आएका हुन । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले हालसम्म नौ हजार ५५० पशुमा यो रोग देखिएकोमा ९६१ पशुवस्तुु मरेको बताउनुभयो । उहाँले जिल्लाका सात वटै गाउँपालिकाका पशुमा यो रोग लागेको बताउँदै धेरै पशु मरेको बताउनुभयो । मर्ने पशुमा गाई, गोरु, घोडा, जुमा, झोपा, गदा, खच्चड रहेका छन् ।  कार्यालयले उपलब्ध गराएको विवरण अनुसार गाउँपालिका अनुसार रोग लागेका र मरेका पशुहरूमा नाम्खा गाउँपालिकामा १८९ पशुमा रोग लागेकोमा ११३ वटा मरेका छन् । 

त्यसैसरि सिमिकोट गाउँपालिकामा एक हजार ३८३ पशुलाई रोग लागेकोमा १६९ पशुको मृत्यु भएको छ भने खुर्पानाथ गाउँपालिकामा एक हजार ८५७ पशुलाई रोग लागेकोमा दुई सय पशु मरेका छन् । त्यसैसरि अन्य गाउँपालिकाहरू सर्केगार्डमा पाँच हजार २८० पशुमा रोग लागेकोमा ४२७ पशु मरेको, चङ्खेली गाउँपालिकामा ६५० पशुलाई रोग लागेको र त्यसमा ३२ को मृत्यु, अदानचचुली गाउँपालिकामा ७१ पशुमा रोग लागेकोमा १४ पशु मरेको तथा ताँजाकोट गाउँपालिकाका १२० वटा पशुलाई रोग लागेकोमा छ वटा पशु मरेका छन् । 

लम्पी स्किन रोग लागेका पशुहरूलाई उपचार भने सबै गाउँपालिकामा गरिएको थियो । उहाँले उपचार गर्दा कति पशु बाँच्न सफल भए भने कतिको मृत्यु भएको बताउनुभयो । सिमिकोट र नाम्खा गाउँपालिकाले भने भ्याक्सिन खरिद गरेर गाउँपालिका भरिका पशुहरूको भ्याक्सिनेस भई रहेको छ भने  अन्य पाँच वटा गाउँपालिकाले भ्याक्सिन खरिद नगरेको कारण पशुलाई भ्याक्सिन लगाउने कार्य हालसम्म हुन सकेको छैन ।