• ८ मंसिर २०८१, शनिबार

भूस्वर्ग विकासको बाटो

blog

अछाम, डोटी, बाजुरा र बझाङको सङ्गमस्थल खप्तड पहिले निगालोले प्रसिद्ध थियो । यहाँ २२ पाटन, २५ मैदान र ५३ थुम्का त थिए, प्राकृतिक र जैविक दृष्टिले मनमोहक त थियो नै तर त्यसको चास्नी चाट्न जानेका थिएनन् नेपालीले । विसं १९८६ मा नेपाल आउनुभएका परम्हंस योगी सच्चिदानन्द सरस्वतीले खप्तडमा ५० वर्ष बसेर साधना गर्नुभयो । उहाँको ज्ञान, समाजसेवा, परोपकार, सत्कार्यले उहाँलाई खप्तडबाबा भनेर सर्वसाधारणमा प्रसिद्ध मात्र बनाइएन, खप्तडको महत्व पनि सार्वजनिकी भयो । विसं २०४२ मा खप्तड राष्ट्रिय निकुञ्ज स्थापना गरिएपछि त्यहाँको पर्यावरणीय संरक्षणको कार्य त भएको छ तर प्रकृतिले सुदूरपश्चिम नेपाललाई दिएको यो ‘गाडधन’को सदुपयोग हुन सकेको छैन । त्यस क्षेत्रको जीवनस्तर उकास्न मात्र होइन, समग्र देशकै पर्यटन प्रवर्धन हुन सकेको छैन । अब भने खप्तडको विकासतर्फ राज्यका पाइला चल्न थालेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले संयुक्त रूपमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरेका छन् । मङ्गलबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई सुदूरपश्चिमको मात्र नभई देशकै पर्यावरणमैत्री, पर्यटकीय आध्यात्मिक केन्द्रको रूपमा विकास गरिने बताउनुभएको छ । खप्तडको धार्मिक, आध्यात्मिक र सांस्कृतिक पक्ष संरक्षण गर्न सम्मेलनको आयोजना गरिएको हो । त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिङ्ग, खप्तड बाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदा भौतिक संरचना मात्र होइनन्, ती यहाँका गाडधन हुन् । यो भूमिको पवित्रता, स्वच्छताले जसरी स्वामी सच्चिदानन्दको साधना सिद्ध गराएर यहाँको धार्मिक गरिमालाई पुष्टि दिएको छ, तसरी नै भावी पुस्ताले पनि यसको लाभ लिन सक्ने छ । खप्तडबाबा जस्ता तपस्वी, ज्ञानी, त्यागी, योगी, लेखक, साधक बनाउने क्षमता राख्छ खप्तडले । यहाँको आध्यात्मिक, धार्मिक र सांस्कृतिक रसोस्वादनबाट खप्तडबाबाले खप्तड लेक, पहाड र जङ्गल मात्रलाई आज पवित्र, सुन्दर, सत्य र ज्ञानकेन्द्रको उपमा दिलाइदिनुभएको हो ।

खप्तडको आध्यात्मिक महत्व मात्र होइन बरु यसको पर्यावरणीय महत्व र सुन्दरता अधिक छ । ठुला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीबिरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा छ । समुद्री सतहबाट तीन हजार पाँच सय मिटरसम्मको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ, खप्तड क्षेत्र । २६० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइने जैविक विविधताको फूलबारी अनि मोहक भूवनोटको कारणले त यसले भूस्वर्गको उपमा पाएको हो । धार्मिक किंवदन्ती ‘पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग गएको’ विश्वासमा तादात्म्य मिलाइदिने खप्तड ज्ञानी, ध्यानी, यायावर, लेखक, अनुसन्धाता आदि सबैको उत्कृष्ट गन्तव्य बन्न सक्छ तर बनाउनचाहिँ पर्छ र बनाउँदा यसको प्राकृतिक सौन्दर्य र पर्यावरण किञ्चित बिगार्न हुँदैन ।

प्रधानमन्त्री प्रचण्डले नयाँ पर्यावरणमैत्रीसहित खप्तडको नयाँ संरचनाको विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताउनुभएको छ तर त्यो सार्वजनिक भएको छैन । विसं २०७९ असारमा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पनि नौ बुँदे प्रतिबद्धता व्यक्त गरिएको थियो । खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, स्थानीय सामग्रीबाट बनेको ध्यान गृह बनाउने योजना तयार गरिएको थियो । 

खप्तड क्षेत्रको गुरुयोजना भौतिक निर्माणमा मात्र केन्द्रित हुनु हुँदैन । संरक्षण, व्यवस्थापन, बजारीकरण, स्थानीयलाई जैविक विविधतायुक्त पर्यापर्यटनको महत्वबोध गराउने कार्यक्रम र संयन्त्रहरू पनि हुनु पर्छ । मन्दिर बनाएर मात्र धार्मिक पर्यटन विकास हुँदैन । डिपिआरलाई स्वीकृति पूर्व पर्यावरणविद् र विकासविद् बिच गहन परामर्श गरी टुङ्गोमा पुग्नु उपयुक्त हुन्छ । यतिखेरको सम्मेलनमा भारतबाट योगगुरु रामदेव, आचार्य बालकृष्णका साथै अमेरिका, इजरायल, भारतलगायत दूतावास प्रतिनिधिहरू खप्तड पुग्नुले यसलाई पर्यटकीय गन्तव्य र अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउन ती शुभेच्छुकको साथ सहयोग लिन सकिने सन्देश प्राप्त भएको छ । यहाँ अन्तर्राष्ट्रिय समुदायले लगानी गर्न सक्छ तर अहिलेको खाँचो चाहिँ पर्यटकीय शिक्षासहितको पूर्वाधार विकासकै छ ।