• २१ वैशाख २०८१, शुक्रबार

लाइफाई : बत्तीबाटै इन्टरनेट

blog

इन्टरनेटको दुनियाँमा नयाँ नयाँ परिवर्तन आइरहन्छ । इन्टरनेट प्रविधिमा आउने त्यस्तो परिवर्तनले हामीले इन्टरनेट प्रयोग गर्ने तरिका नै बदलिदिएको छ । विगतमा डायलअप हुँदै सुरु भएको इन्टरनेट प्रविधि अहिले फाइभजी र वाइफाईसम्म आइपुगेको छ । अहिले एकदमै प्रयोगमा रहेका यी प्रविधिमा पनि निरन्तर परिवर्तनका लागि अध्ययन अनुसन्धान हुँदैछ । सिक्सजी त्यसैको परिणाम हो ।  

मोबाइलमा मात्र होइन, अहिले हामीले प्रयोग गरिरहेको वाइफाई प्रविधिमा पनि ठूलो परिवर्तन ल्याउने प्रयास भइरहेको छ । घरघरसम्म अप्टिकल तार जोडेर राउटरमार्फत वाइफाई सिग्नल प्रयोग गरेको त भाइबहिनीको पनि अनुभव होला नै । 

राउटरमार्फत हाम्रो मोबाइल अथवा अरू डिभाइसमा इन्टरनेट चलाउन रेडियो वेभ(तरङ्ग)को प्रयोग हुन्छ । अर्थात् वाइफाईले दिने सिग्नल हाम्रो मोबाइलमा जोडिन हावाका माध्यमबाट आउने रेडियो तरङ्गले काम गरेको हुन्छ । राउटरबाट आएको रेडियो तरङ्गलाई मोबाइलमा जोडिएपछिको अवस्थालाई नै हामी ‘इन्टरनेट कनेक्ट’ भएको भनेर भन्छौँ । त्यसरी कनेक्ट भएपछि नै हामीले मोबाइल अथवा अरू कुनै पनि डिभाइसमा इन्टरनेट प्रयोग गर्न सक्छौँ । 

अहिले हामीले जसरी वाइफाईको प्रयोग गरिरहेका छौँ अब यसमा पनि केही परिवर्तन हुँदैछ । वाइफाईकै जस्तै तर अलि फरक प्रविधिको प्रयोगका विषयमा अहिले ठूलो अध्ययन अनुसन्धान भएको छ र त्यसले एक किसिमले सफलता पनि पाएको छ । वाइफाईको विकल्पमा हेरिएको त्यस्तो प्रविधि हो, लाइफाई । 

झट्ट सुन्दा वाइफाईजस्तै सुनिने लाइफाई प्रविधिमा राउटर नभई हामीले घरमा प्रयोग गर्ने एलईडी लगायत बत्तीको प्रयोग हुन्छ । बत्तीमार्फत सिर्जना हुने प्रकाशको किरणलाई प्रयोग गरेर इन्टरनेट चलाउन सकिने प्रविधि नै लाइफाई हो । लाइफाईमा प्रयोग भएकालाई प्रकाश अर्थात् लाइटको छोटकरी रूप हो । यसको नामबाटै यसले लाइटको प्रयोगमार्फत इन्टरनेट कनेक्सन दिने बुझ्न सकिन्छ । जसरी वाइफाईमा हावाका माध्यमबाट रेडियो तरङ्ग पठाएर इन्टरनेट कनेक्सन हुन्थ्यो लाइफाईमा त्यसको ठाउँमा बत्तीको प्रयोग गरिएको हुन्छ । यसको अर्थ होे, इन्टरनेटका लागि वाइफाई हैन बत्ती ‘अन’ गर्नुपर्छ । 

लाइफाई प्रविधिमा एलईडी चिमबाटै इन्टरनेट तरङ्ग प्रवाह गरिन्छ । त्यसरी प्रवाह गरिएको तरङ्गलाई वाइफाईमा जस्तै गरेर हामीले मोबाइललगायतका डिभाइसमा कनेक्ट गर्न सक्छौँ । वाइफाईको तुलनामा लाइफाईको स्पिड एक सय गुणासम्म बढी हुन सक्छ । यसको मतलब लाइफाईबाट अहिले हामीले प्रयोग गरिरहेकोभन्दा धेरै गुणा छिटो इन्टरनेटको अनुभव लिन सक्छौँ । 

लाइफाई प्रविधिमा प्रकाश जहाँ पुगेको हुन्छ त्यहाँ मात्र इन्टरनेट प्रयोग गर्न सकिन्छ । सामान्यतया एउटा कोठामा यो उपयोगी हुन सक्छ । कोठाको भित्ताले प्रकाश छेक्ने भएकोले अर्को कोठामा भने त्यसको प्रयोग गर्न सकिँदैन तर अर्को कोठाको बत्तीमा पनि त्यसरी नै लाइफाई जडान गरिएको छ भने प्रयोग गर्न त सकिने नै भयो । बत्तीको प्रकाशलाई सूर्य, चम्किलो वस्तु र अन्य किसिमका बत्तीले पनि असर पुग्न सक्ने भएकाले त्यस्तो अवस्थामा भने इन्टरनेटमा केही अवरोध हुन सक्छ । 

वाइफाईको तुलनामा लाइफाई प्रविधि सुरक्षित मानिन्छ । यसको प्रयोग कोठा अथवा कार्यालयभित्र मात्र गर्न सकिने भएकाले जो कोहीले यसमा पहुँच बनाउन सक्दैन । यसले गर्दा डेटा चोरी हुन सक्ने अथवा प्रयोगकर्ताको डिभाइसमा अरू कोही प्रवेश गरेर समस्या सिर्जना गर्न सक्ने जोखिम वाइफाईको तुलनामा कम हुन्छ । गति, सुरक्षा, सहजताको हिसाबले लाइफाई एकदमै नयाँ प्रविधिको भए पनि वाइफाईको तुलनामा महँगो हुने भएकाले यसको धेरै प्रयोग हुनेमा भने शङ्का नै छ । करिब एक दशक लामो अध्ययन अनुसन्धानपछि अहिले विश्वका एक दर्जनभन्दा बढी मुलुकमा यसको केही प्रयोग भने भइरहेको छ । सिग्निफाइ लाइफाई प्रविधिमा काम गरिरहेको सुरुवाती कम्पनी हो । नेपालमा यसको प्रयोग सुरु हुने समय भने अझै यकिन छैन ।