• २८ असोज २०८२, मङ्गलबार

स्थानीय तहको योजना किताब समयमै नआउँदा विकास ठप्प

blog

पर्वतको विहादी गाउँपालिकाको कार्यालय भवन ।

प्रनिश गिरी
कुश्मा, पर्वत असोज २८ गते । 
पर्वत जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले वार्षिक योजना किताब तोकिएको समय भित्र सार्वजनिक गर्न नसक्दा भौतिक विकास निर्माणका काम ठप्प बराबर छन् । आर्थिक वर्ष सुरु भएको महिनौ बितिसक्दा पनि जिल्लाको दुई नगरपालिकासहितका ६ वटा पालिकाले वार्षिक योजना किताब सार्वजनिक गर्न सकेका छैनन् ।

स्थानीय तह योजना तर्जुमा तथा बजेट निर्माण कार्यविधि, २०७५ ले तोकेको स्पष्ट समयसीमा भित्र वार्षिक योजना किताब आउन नसक्दा विकासनिर्माणको काममा अन्यौलता छाएको जनप्रतिनिधिहरुको गुनासो छ । कुश्मा नगरपालिका वडा १२ का अध्यक्ष झलक रिमालले योजना पुस्तिका नआउँदा कुन योजना कहिले, कसरी र कति बजेटमा सञ्चालन गर्ने भन्ने निधो हुन नसकेको बताउनुहुन्छ ।

वडा अध्यक्ष रिमालले भन्नुभयो, ‘‘बजेट र योजना समयमा ल्याउन नसक्दा जनताको असन्तुष्टि बढेको छ । बाटोघाटा निर्माण, कुलो, विद्यालय, स्वास्थ्य क्षेत्रका कामहरु गर्न सकिएको छैन । व्यक्तिगत रकम खर्च गरेर भए पनि वर्षातमा विग्रेका बाटाहरु मर्मत गर्नु परेको छ । विकास बजेट नभएपछि वडामा निर्माण गरिएको आधारभूत अस्पतालमा अति आवश्यक स्वास्थ्य सामाग्री खरीद गर्न सकिएको छैन ।’’

मोदी गाउँपालिका वडा २ का अध्यक्ष बेल बहादुर कार्कीले पालिकाले योजना किताब सार्वजनिक नगर्दा वडामा जनताले माग गरेका स्थानीय योजनाहरु अगाडि बढाउन नसकिएको गुनासो गर्नुभयो । वडा अध्यक्ष कार्कीका अनुसार योजना किताब सार्वजनिक नहुँदा हालसम्म वडामा कुनै पनि नयाँ आयोजना औपचारिक रुपमा स्वीकृत हुन सकेको छैन । वडामा सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी, कृषि लगायत क्षेत्रका योजना कार्यान्वयनमा ढिलाई भएको छ ।

विकास निर्माणका कार्यविधिमा वार्षिक योजना कितावलाई साउनको पहिलो साताभित्र सार्वजनिक गर्ने भनी उल्लेख गरे पनि जिल्लाका कुनै पनि स्थानीय तहले समयसीमा भित्र वार्षिक योजना किताब सार्वजनिक गरेनन् । जिल्लाको पैयुँ गाउँपालिकाका सूचना अधिकारी अनिल आचार्यका अनुसार पालिकाले तोकिएको समयसीमा भन्दा दुई महिना ढिला गरी वार्षिक योजना किताब सार्वजनिक गरेको हो ।

कुश्मा नगरपालिकाका सूचना अधिकारी धुर्वराज पौडेलले योजना पुस्तिका सार्वजनिक गर्न ढिलाई भएको स्वीकार गर्दै प्रशासकीय अधिकृतको सरुवा छिटोछिटो हुँदा समस्या रहेको बताउनुभयो । जिल्लाका दुई नगरपालिका कुश्मा नगरपालिका र फलेवास नगरपालिका सहित मोदी गाउँपालिका, जलजला गाउँपालिका, विहादी गाउँपालिका, महाशीला गाउँपालिका कुनैले पनि महिनौ वितिसक्दा अझै वार्षिक योजना किताब सार्वजनिक गर्न सकेका छैनन् ।

जिल्लाका स्थानीय तहले समयमै वार्षिक विकास कार्यक्रम सार्वजनिक गर्न नसक्दा विकास निर्माणमा ढिलाई, बजेट खर्च गर्न नसक्ने अवस्था, पारदर्शिता र जवाफदेहिता घट्ने आशंका स्थानीय जनप्रतिनिधिहरुको छ । जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यले गतवर्षका योजनाका लागि आर्थिक स्रोतको मिलान गर्न केही कठिन हुँदा वार्षिक योजना किताब बाहिर ल्याउन ढिलाई भएको बताउनुभयो । गाउँपालिकाका सूचना अधिकारी आचार्यका अनुसार अव ढिला नगरी योजना किताब सार्वजनिक गर्ने तयारीमा लागेको उल्लेख गर्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ अनुसार ‘‘वार्षिक नीति, कार्यक्रम र बजेट तयार गरी आर्थिक वर्ष सुरु हुनुअघि नै स्वीकृत गरी कार्यान्वय गर्नु भन्ने छ ।’’ यस अनुसार योजना किताब आर्थिक वर्ष सुरु हुनु अगाडि नै तयार र स्वीकृत हुनुपर्ने भनिए पनि जिल्लाका स्थानीय तहले वेवास्ता गर्दै आएका छन् ।