काठमाडौँ, जेठ २४ गते । स्वच्छन्द बालकका निश्चल ओठका मुस्कान हिमनदी निरन्तर बगिरहे झैँ लाग्छ । निलो क्यानभासमा आँखा पु¥याउने जो कोहीलाई त्यस दृश्यले लोभ्याउँछ । नक्सालस्थित अरनिको ग्यालरीमा छिर्नेबित्तिकै बायाँतर्फ धुम्म आकाशमुनिको ठुलो चेप्टो ढुङ्गा नेपाल हो भनेर चित्र बोल्छ । खुट्टामा चप्पल छ तर त्यसले गरिबीभन्दा आत्मविश्वासको भार थेगिरहेको देखिन्छ । सुबोध गुरुङले तेल रङ्गमा कसी लगाएको त्यो कलाले नेपालको भविष्यको हँसिलो मुहार झल्काउँछ । अलिक पर दलबहादुर राईको एक्रेलिक रङ्गको कमालको भित्ता बोले झैँ गरी खुलेको छ । साना ढुङ्गाको पिच आकृतिभित्र अटाएकी आदिवासी आमाभित्र वर्तमान नेपाल आमाको चरित्र झल्किन्छ । त्यो आकृतिअघि कला पारखीहरू एक पल्ट टक्क अडिन बाध्य हुन्छन् । यस्तै अनेकतामा एकताको प्रतीक झल्कने आधुनिक नेपाल हेर्न, बुझ्न र मनन गर्न राष्ट्रिय कला प्रदर्शनीमा पुग्नै पर्ने हुन्छ । ‘म, मेरो देश र मेरो सिर्जना’ भन्ने विषयमा तयार पारिएका कलाले देशको वर्तमान परिदृष्यलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
समसामयिकताको दर्शनबाट ओतप्रोत प्रदर्शनीको पहिलो आँखा कलाकार रवीन्द्र श्रेष्ठको मानवीयताको औँठा र छेउमै कोरिएको शताब्दीपुरुष सत्यमोहन जोशीको स्केचमा पर्छ । सत्यमोहनको भौतिक देश छैन तर उहाँको ज्ञानको बोधिसत्वको बिउ नेपालको कला, संस्कृतिमा रोपिएका छन् भन्दा फरक पर्दैैन । धान बतारहेकी महिला, फोहोर फाल्दै गरेका पुरुष, जनजाति पोसाकमा उभिएकी युवती मात्र हैन भिक्षुक गण, देवी देवताका गणसँगै आधुनिक नेपालले पाइला अगाडि बढाएको नयाँ प्रविधिको बाटोमा चित्रले डो-याउँछन् । कमिलाको ताँती बनेका पहेँला साँचोहरू लहर लागेर ताल्चातिर बढ्दै गरेको सिर्जनात्मक कलाले देशका समस्याको पोको फुकाउन सङ्घर्ष भइरहेको सत्य बोल्छ । प्रदर्शनी हेर्न आएका केटाकेटीहरू तिनलाई देख्नासाथ भन्छन् हेर हेर साथी हो, कमिलाको ताँती यो...। आफ्नो
घर आफैँ बनाउनुपर्छ त्यो पनि मेहनतका साथ, शीर्षकले पनि त्यस्तै बोल्छ । हिमाल, पहाड र तराईको प्राकृतिक सुन्दरता ल्यान्डस्केप र साना क्यानभासभित्र राष्ट्रिय गानको ‘सयौँ थुङ्गा फूल’ जस्तै झरिला छन् । कतै पुतली, कतै चरा, कतै हिमाल, नदी, वनवृक्ष, माहुरी बनेर झुलेका छन् । तेत्तीस करोड देवी देवता र पूर्वीय सभ्यताको उपस्थिति पनि समसामयिक कलाभित्र प्रशस्तै अटाएका छन् । कालभैरवदेखि जीवित देवी कुमारीको यथार्थ रङ्गमा कलाकारको कुची चलेका छन् ।
हिमाल, पहाड तराई कोही छैन पराई एउटा कुनामा कलाकारले लेखेको उक्ति मात्र हैन भित्ताभरि नेपालको जैविक र भौगोलिक विविधताजस्तै फैलिएका क्यानभासका रङ्गहरूले आफैँ बोल्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली बताउनुहुन्छ । यथार्थपरक विषयका साथ क्यानभासमा समेटिएका त्यस्ता कलाको बृहङ्गम स्वरूपले देशको छविसँगै आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको साख बढाएको महसुस कुलपति नारदमणि हार्तमछाली गर्नुहुन्छ । उपकुलपति लालकाजी लामाले भन्नुभयो, “सिङ्गो नेपाल हेर्न मन छ भने यहाँ आउनुस् रङ्गहरूमा खोज्नुस् पक्कै आफ्नै देश भेटिन्छ ।” समसामयिक र अन्य सिर्जनात्मक कलाका झन्डै तीन सय वटा कलाकृति त्यहाँ हेर्न सकिन्छ ।