• १५ वैशाख २०८१, शनिबार

रेस्लिङ खेलाडीको उपचारका लागि सम्झौता

blog

नेपाल रिङ रेस्लिङ संघ र नेपाल नेशनल हस्पिटलले खेलाडीको उपचार सम्बन्धि सम्झौता गरिँदै ।

काठमाडौं, जेठ २३ गते । नेपाल रिङ रेस्लिङ सङ्घ र नेपाल नेशनल हस्पिटलले खेलाडीको उपचार सम्बन्धी सम्झौता गरेका छन् । मंगलबार नेपाल नेशनल हस्पिटलमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा सङ्घका महासचिव सुवर्णा श्रेष्ठ र हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार अस्पतालले नेपाल रेस्लिङ सङ्घका आबद्ध खेलाडी र तिनका परिवारलाई छुट सहितको उपचार सेवा उपलब्ध गराउनेछ । सम्झौतापछि बोल्दै मेडिकल निर्देशक डा. पौडेलले खेलाडीको स्वास्थ्य अवस्थामा नेपाल नेशनल हस्पिटल सदैव साथ रहने बताउँदै निश्चिन्त भएर खेल्न आग्रह गर्नुभयो ।

उहाँले रिङ रेस्लिङमा नेपाली खेलाडी युवाहरूका लागि आइकन बनुन् भन्ने आफूहरूको चाहना रहेको पनि उल्लेख गर्नुभयो । नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव श्रेष्ठले उपचार सम्बन्धी सम्झौता गर्ने अवसर प्रदान गरेकोमा अस्पताललाई धन्यवाद दिनुभयो ।

‘‘खेल र ट्रेनिङका क्रममा खेलाडीहरू घाइते हुन्छन् । तर, उपचारका लागि आर्थिक अवस्था राम्रो हुँदैन, चिन्ता लिएर खेल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘‘तर, अब नेपाल नेशनल हस्पिटल उपचारका लागि साथमा भन्ने कुराले हाम्रो त्यो चिन्ता हटेको छ ।’’ उहाँले नेपाल नेशनल हस्पिटल सङ्घको सहकार्य निरन्तर जारी रहने विश्वास पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले खेल र स्वास्थ्यको सम्बन्ध नङ र मासुको जस्तै भएको धारणा राख्नुभयो । ‘‘खेल क्षेत्र र नेपाल नेशनल हस्पिटलको सहकार्य राम्रोसँग अगाडि बढिरहेको छ । यो खेलाडीका लागि मात्रै नभएर राष्ट्रका लागि अस्पतालले योगदान गरिरहेको छ,’’ आचार्यले भन्नुभयो । 

कार्यक्रममा रेस्लर नुवाकोट टाइगरले खेलाडीको स्वास्थ्य तलमाथि भइरहने भएकाले अस्पतालसँगको सहकार्य जरुरी रहेको बताउनुभयो । सोही अवसरमा विभिन्न खेलाडीहरूलाई सम्मान पनि गरिएको थियो ।