• १६ चैत २०८०, शुक्रबार

माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

blog

विराटनगर, जेठ २३ गते । नेकपा (माओवादी केन्द्र) ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको कारण आफूहरूले समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो ।

आज (मङ्गलबार) बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँले राजीनामा दिनुभएको हो ।

आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भए पनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताउनुभयो ।

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरेपनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । “सरकारले पहिचानवादीको आन्दोलन र मागलाई बेवास्ता गरेको छ, सम्मान गरेको छैन”, उहाँले भन्नुभयो । रासस