• १३ वैशाख २०८१, बिहिबार

शिक्षक रेग्मीको शङ्कास्पद मृत्यु

blog

शिक्षक रविन्द्र रेग्मी ।

गोविन्द शर्मा

बाँके,  जेठ २३ गते । शिक्षण पेसामा आबद्ध नेपालगञ्ज उपमहानगरपालिका –१८ का रवीन्द्र रेग्मीको मृत्यु भएको छ । सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानु छ भन्दै घरबाट निस्किनुभएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो । 

भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किनुभएका रेग्मीको राति १०.३० बजेपछि मोबाइल स्विचअफ भएको परिवारका सदस्यको भनाइ छ । ४३ वर्षीय रेग्मी आदर्श मावि राँझामा कार्यरत रहनुभएको थियो । 

सडक किनारमा मोटरसाइकल रहेको र नजिकै रेग्मीको शव जलेको अवस्थामा भेटिएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिनुभयो । घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे अनुसन्धान सुरु भएको बताउनुभयो । 

प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जनाएको छ । रेग्मीको  शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।