• १६ फागुन २०८२, शनिबार

सुनसरी क्षेत्र नं. २ उम्मेदवारमा अधिकांश नयाँ अनुहार

blog

इनरुवा समाचारदाता 

इनरुवा, फागुन १६ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा प्रायः नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । समानुपातिकबाट संसद् भएकादेखि प्रदेश सभा सदस्य भएका नेता पुरानो भए पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फका लागि भने अधिकांश पहिलो पटक प्रतिस्पर्धामा उत्रेका हुन् । यस क्षेत्रमा पुराना राजनीतिक दल, नयाँ दर्ता भएका दल र स्वतन्त्र गरी २८ जना उम्मेदवार  प्रतिस्पर्धामा  उत्रेका छन् ।  यस क्षेत्रमा गत निर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका लालविव्रmम थापाबाहेक सबै नयाँ अनुहारका उम्मेदवार हुनुहुन्छ । 

नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले विगतको कांग्रेसको लोकप्रियता र आफूले गरेको कामको मूल्याङ्कनका आधारमा यस पटक जनताको विश्वास जित्ने दाबी गर्नुभयो । 

गत राष्ट्रिय स्वतन्त्र पार्टीका लालविव्रmम थापाले गत निर्वाचनमा १९ हजार ३८६ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको थियो । यस पटक भने आफ्नो पक्षमा जनमत आउने उहाँको दाबी छ । त्यस्तै जसपा नेपालले रामचन्द्र मेहतालाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा जसपाले नेकपा (एमाले) लाई समर्थन गरेको थियो । 

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार सुजन लामाले यस क्षेत्रको जितलाई निरन्तरता दिने बताउनुहुन्छ । लामाले आफू युवा भएको, पार्टीको उद्देश्य सही भएको र देशको विकास, समृद्धिको एजेन्डा भएकाले जित्नका लागि उम्मेदवारी दिएको बताउनुभयो यस क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका गीतामाया बजेगू, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कृष्णकुमारी दनुवार, मङ्गोल नेसनल अर्गनाइजेसनका सन्तहिरा राई, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार बस्नेतसहितकाले उम्मेदवार मतदातासँग मत माग्न व्यस्त हुनुहुन्छ । 

मतदाताको माग 

मुख्य राममार्ग र इटहरी, रामधुनी र इनरुवाको मुख्य सडक कालोपत्रे भए पनि भित्री सडक निर्माण नभएको, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र यातायातको पहँुच जस्ता आधारभूत कुरा पूरा गर्ने आधारसहितका उम्मेदवारलाई मतदान गर्ने मतदाताले बताएका छन् । 

सदरमुकाम इनरुवादेखि भारतीय सीमावर्ती देवानगन्ज कौवाखोचसम्म झन्डै २३ किलो मिटर सडक २०५४ सालदेखि स्थानीय र सङ्घीय निर्वाचनमा उम्मेदवारको घोषणापत्र र भाषणमा प्राथमिकतामा पर्दासमेत व्यवहारमा काम नहुँदा अहिले पनि यो सडक निर्माण गर्नेलाई मतदान गर्ने केही मतदाताको भनाइ छ । सदरमुकामदेखि सीमासम्म फैलिएको लाखौँ नागरिकको इनरुवासँग जोड्ने मार्ग इनरुवा कौवाखोच सडक निर्माणको मुद्दा सम्बोधन गर्ने उम्मेदवारको पर्खाइमा आफूहरू रहेको इनरुवा–९, बबियाका स्थानीय फूलचन्द मेहताले बताउनुभयो । 

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने इनरुवा कौवाखोच सडक निर्माणको मुद्दा सम्बोधन गर्ने उम्मेदवारको पर्खाइमा आफूहरू रहेको इनरुवा–९, बबियाका स्थानीय फूलचन्द मेहताले बताउनुभयो । यस क्षेत्रमा जनताको आवश्यकता र नेताको समस्याका रूपमा रहेको इनरुवा–कौवाखोच सडक निर्माण गर्ने वाचा गरेका तीन वटा स्थानीय चुनाव र पाँच वटा सङ्घीय तथा दुई वटा प्रदेशको निर्वाचन सम्पन्न हुँदासमेत यो सडक निर्माण सम्पन्न नभएको इनरुवा–१०, जल्पापुरका सदिक मियाँले गुनासो गर्नुभयो ।