यादवराज पुरी
रौतहट, फागुन १६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रका ७७ जना उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिससमेत नलिएको खुलेको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लामा कुल १४२ जना उम्मेदवारमध्ये ६५ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् भने बाँकी ७७ जनाले हालसम्म खाता खोल्ने प्रक्रिया अघि बढाएका छैनन्।
निर्वाचन सम्पन्न हुन पाँच दिन बाँकी रहँदासम्म पनि धेरै उम्मेदवारले खाता सञ्चालनका लागि प्रक्रिया अघि नबढाउनु उपयुक्त नभएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताउनुभयो। उहाँका अनुसार निर्वाचन खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको बैंक खाता खोल्ने प्रक्रियामा अपेक्षाकृत कम उम्मेदवार सक्रिय देखिएका छन्।
कार्यालयको अभिलेखअनुसार क्षेत्र नं. १ मा दलगत १२ र स्वतन्त्र १२ गरी २४ जनाले सिफारिस लिएका छन्। क्षेत्र नं. २ मा दलगत नौ र स्वतन्त्र छ गरी १५ जनाले सिफारिस लिएका छन्। त्यसैगरी क्षेत्र नं. ३ मा दलगत १० र स्वतन्त्र एक गरी ११ जनाले सिफारिस लिएका छन् भने क्षेत्र नं. ४ मा दलगत १३ र स्वतन्त्र दुई गरी १५ जनाले मात्र सिफारिस लिएका छन्।
निर्वाचन आयोगको निर्देशिकाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आय–व्यय बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था छ। निर्वाचन नजिकिँदै जाँदा पनि ७७ उम्मेदवारले खाता नखोलेकाले खर्च व्यवस्थापन तथा प्रतिवेदन प्रक्रियामा समस्या आउन सक्ने भन्दै कार्यालय प्रमुख दासले समयमै प्रक्रिया पूरा गर्न सम्बन्धित उम्मेदवारलाई आग्रह गर्नुभएको छ।