• १६ फागुन २०८२, शनिबार

सल्यानमा निर्वाचन सामग्री वितरण सुरु

blog

मतदान केन्द्रमा पठाउने निर्वाचन सामग्री तयारी अवस्थामा राख्दै जिल्ला निर्वाचन कार्यालय सल्यानका कर्मचारी। तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, फागुन १६ गते ।
सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने कार्य शनिबारदेखि सुरु हुने भएको छ।

मतदाता नामावली, मतपत्र, मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसीलगायतका आवश्यक सामग्री वितरणको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ। शनिबार दिउँसो २ बजेदेखि आइतबार दिउँसो ३ बजेसम्म पालिकाअनुसार सामग्री वितरणको समय निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार शनिबार दुई वटा पालिका र आइतबार आठ वटा पालिकामा खटिएका मतदान अधिकृतलाई सामग्री बुझ्न बोलाइएको छ। कालिमाटी र दार्मा गाउँपालिकाका मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई शनिबार नै निर्वाचन सामग्री वितरण गरिनेछ।

त्यस्तै आइतबार बिहान ७ बजेदेखि पालोअनुसार क्रमशः कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाका मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण गरिनेछ।

सल्यान जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र कायम गरिएको छ। जिल्लाभरका मतदान केन्द्रका लागि ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरी खटाइएको छ।

मतदान केन्द्र सञ्चालनका लागि सियो, धागो र सुतलीजस्ता सामान्य सामग्रीदेखि मतपत्र र मतपेटिकाजस्ता महत्त्वपूर्ण सामग्रीसम्म जिम्मा लगाएर पठाउन थालिएको हो।