• १३ वैशाख २०८१, बिहिबार

कोहलपुर नपालाई सिकलसेलका लागि ७० लाख बजेट

blog

कोहलपुर नगरपालिकाको कार्यालय । फाइल तस्बिर

साबित्री गिरी

कोहलपुर, जेठ २३ गते । अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । कोहलपुर नगर कार्यपालिकाको मङ्सिर २७ गते बसेको बैठकले समपूरक र विशेष योजनाका लागि ११ वटा योजना माग गरी पठाएको थियो । 

त्यसमा समपूरक योजनाका लागि ५ वटा र विशेषका लागि ६ वटा योजना माग गरी पठाइएकोमा दुबैतर्फ एक–एक वटा योजना परेको नगरपालिकाले जनाएको छ । समपूरक तर्फ डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट विनियोजन भएको छ । 

यो योजनामा नगरपालिकाले ५० लाख थप्ने छ । यो योजना एक करोडको हुनेछ । डुडुवा खोलामा तटबन्ध नहुँदा कोहलपुर नगरपालिका वडा १२ र १३ का आधा दर्जन बस्ती डुवान र कटानको उच्च जोखिममा छन् । यस्तै, सङ्घीय सरकारसँग विशेष योजनातर्फ माग गरिएका ६ वटा योजनामध्ये सिकलसेल एनिमिया ल्याब सञ्चालन तथा व्यवस्थापनका लागि ७० लाख बजेट विनियोजन भएको छ । 

कार्यपालिका बैठकले छैटौँ प्राथमिकतामा राखेर सिकलसेल ल्याब सञ्चालन तथा व्यवस्थापनका लागि साढे एक करोड बजेट माग गरी पठाएको थियो । त्यसमा सङ्घीय सरकारले ७० लाख बजेट विनियोजन गरेको छ ।