• ७ वैशाख २०८१, शुक्रबार

पाँच महिनामा गलेश्वरधाममा एक लाख भक्तजन भित्रिए

blog

म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २३ गते । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँच महिनाको अवधिमा करिब एक लाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् । 

मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरको दर्शन गर्न गत माघदेखि जेठ १५ सम्म उक्त सङ्ख्यामा धार्मिक पर्यटक भित्रिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । प्रायजसो नेपालका सबै जिल्लाबाट भक्तजनहरू गलेश्वर मन्दिरको दर्शन गर्न आएको कोषको भनाइ छ । 

बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका आन्तरिक र भारतीय धार्मिक पर्यटकले गलेश्वरको दर्शन गर्ने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । कोरोना कालपछि गलेश्वरमा दर्शन गर्ने भक्तजनको यो सबैभन्दा धेरै सङ्ख्या हो । 

उहाँले भन्नुभयो, "अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष गलेश्वर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा निकै नै वृद्धि भएको छ । स्वदेश तथा विदेशमा गलेश्वरको सकारात्मक प्रचारप्रसारले पर्यटक सङ्ख्या बढाउन मद्दत पुगेको छ ।"  

मुक्तिनाथ दर्शन गर्ने सिजनका समयमा दैनिक दुई हजारदेखि पाँच हजारसम्म धार्मिक पर्यटकले गलेश्वरको दर्शन गरेको कार्यालय सचिव बानियाँले बताउनुभयो । उहाँका अनुसार यो अवधिमा भक्तजनहरूले चढाएको दान र भेटी गरेर ४३ लाख आठसय १५ रुपियाँ सङ्कलन भएको छ । 

भेटी सङ्कलनको अवस्थालाई हेर्दा भक्तजनहरूको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो । भक्तजनको सुविधाका लागि गलेश्वर क्षेत्रविकास कोषले निःशुल्क धर्मशालाको व्यवस्था समेत गरेको छ । पछिल्लो एक महिनाको अवधिमा भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको कोषले जनाएको छ । कोषका अनुसार एक महिनाको अवधिमा भारतीय भक्तजनले चढाएको ३० हजार भारतीय रकम  सङ्कलन भएको छ । 

गलेश्वरमा धार्मिक पर्यटक बढ्नु सकारात्मक सन्देश भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गत माघ महिनामा गलेश्वरस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लगेपछि भारतीय पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । 

शिलाका कारण भारतमा रहेका हिन्दुहरुकाबीचमा  कालिगण्डकी, मुक्तिनाथ र गलेश्वर क्षेत्रको धार्मिक महोत्सवका बारेमा सकारात्मक सन्देश प्रवाह भएकाले भारतीय भक्तजनहरूको सङ्ख्या बढेको उहाँले बताउनुभयो । आगामी दिनमा भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा अझै वृद्धि हुने उहाँले आशा व्यक्त गर्नुभयो । 

ऐतिहासिक र पौराणिक दृष्टिले महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा र कालीगण्डकी नदीको सङ्गमस्थलमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।