• २० जेठ २०८२, मङ्गलबार

गुठी समस्या सुल्झाउन माग

blog

काँक्रेविहार समाचारदाता

सुर्खेत, जेठ २० गते । दैलेखको दुल्लु भैरवी क्षेत्रका गुठी अन्तर्गत घर भएकाले राज्यबाट पाउने सुविधासमेत प्राप्त गर्न सकेका छैनन्। कर्णाली प्रदेशको भूमिसम्बन्धी समस्या र समाधानका विषयमा सरोकारवालाबिच आयोजित अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले गुठी समस्या सुल्झाउन आग्रह गर्नुभयो। 

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिद्वारा आयोजित अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य रानाले भन्नुभयो, “गुठीमा बनेका घरमा जनताले विद्युत् बाल्न पाएका छैनन्, खानेपानीका मिटर जोडिएका छैनन्।” उहाँले गुठीमा जग्गा भएकै कारण राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट नागरिक वञ्चित हुने अवस्था आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाले पनि सकारात्मक भएर काम गरौँ। राजनीति गर्ने पनि सकारात्मक बनौँ। राजनीति धेरै भयो अब देश बनाउनतिर लागौँ।” कर्णालीका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले गुठीसम्बन्धी सवाललाई प्रदेश तहबाट समाधानको पहल गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रालय मातहतका आफ्नै पनि केही समस्या छन्। छलफलमा उठेका विषयमा समाधानका पहल गरिनेछ।” सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले गुठी जग्गामा देखिएको समस्या समाधान गर्न आवश्यक ऐन निर्माण गरिनुपर्ने बताउनुभयो। 

उहाँले गुठी समस्या समाधानका लागि पहिलो चरणमा सरोकारवालासँग छलफल गरिएको र त्यसको कार्यान्वयनका लागि आवश्यक निर्देशन दिइने जानकारी दिनुभयो। गुठी संस्थानका अध्यक्ष शिवराज पण्डितले दैलेखस्थित गुठी जग्गाको समस्या समाधान गर्न सकिने बताउनुभयो। 

उहाँले विशेषतः उठेका दुई वटा विषयमध्ये कानुनी जटिलता देखिएकाले तत्काल संसद्बाट ऐन जारी गरिनुपर्ने बताउनुभयो। भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले सुर्खेत जिल्लामा भूमिसम्बन्धी समस्या नभएको दाबी गर्नुभयो। अव्यवस्थित जग्गा र सुकुम्बासीका लागि जग्गाधनी पुर्जा वितरण गर्ने कार्य भइरहेको जानकारी दिनुभयो।

उहाँले करिब ८० प्रतिशत पुर्जा वितरणको काम सकिएको उल्लेख गर्नुभयो। मालपोत कार्यालय सुर्खेतका प्रमुख चेतनकुमार खत्रीले भूमिसम्बन्धी समस्या नभएको दाबी गर्नुभयो।